धनगढी, ३० भदौ ।
दशैँ तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै कैलालीको त्रिनगर नाकामा सीमा सहायता कक्ष स्थापना गरिएको छ ।
चाडपर्वका समयमा नेपालीहरु घर फर्किने क्रम बढ्ने र सिमामा लुटिने समस्या समाधानका लागि त्रिनगर नाकामा सीमा सहायता कक्ष स्थापना गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा शुरक्षा बलले संयुक्त रुपमा नाकामा सहायता कक्ष स्थापना गरेको हो ।
भारतबाट फर्किने नेपालीसंगै नेपालबाट फर्किने भारतीयलाई सीमा सहायता कक्षले आवत जावतमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ । सशस्त्र प्रहरी बल नम्बर ५३ गुल्म राजश्व तथा भन्सार तथा भारतीय सीमा सुुरक्षा बलले सोमबार संयुक्त रुपमा नागरिक सहायता कक्ष स्थापना गरेको हो । सशस्त्र प्रहरी बल नम्बर ५३ गुल्म राजश्व तथा भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक भोलाप्रसाद कोसहवा र भारतीय सीमा सुरक्षा बलका असइ मकवान रायले नागरिक सहायता कक्षको उद्घाटन गरे ।
सशस्त्र प्रहरी नायब उपरिक्षक कोसहवाले नागरिक सहायता कक्ष स्थापनापछि नेपाली तथा भारतीय नागरिकलाई सिमामा समस्या नहुने बताए । चाडबाडका बेला बढी भीडभाड हुने हुँदा सीमामै सहायता कक्ष स्थापना गरिएको उनले बताए
। सीमा सहायता कक्षमा सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलको संयुक्त टोली बस्ने जनाइएको छ । उनीहरुले दुइटै देशका नागरिकलाई सीमामा समस्या भोग्न नदिने बताएका छन् । सोमबारबाट शुरु भएको सहायता कक्ष छठ पर्वसम्म रहने सशस्त्र प्रहरीले जनाएको छ ।
चाडपर्वका बेला भारतबाट फर्किने नेपालीहरुमाथि सीमा नाकामा दुव्र्यवहार हुने गरेको छ । यसैगरी, लुटपाटसमेत हुने गरेको छ । सीमा सहायता कक्ष स्थापनाले भारतबाट फर्किने नेपाली र नेपालबाट भारत जाने भारतीयलाई धेरै सहज हुने बताइएको छ । चाडपर्व सुरु हुने बेला भएसंगै भारतको विभिन्न ठाउँमा गएका नेपालीहरु फर्किनेक्रम सुरु भएको छ ।