धनगढी, २४ मंसिर । कोरोना भाइरसको जोखिमका कारण दुई वर्षदेखि हुन नसकेको सुदूरपश्चिम महोत्सव यसवर्ष हुने भएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले धनगढीमा महोत्सव लगाउन तयारी थालेको हो।
उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले महोत्सव लगाउनका लागि अनौपचारिक रुपमा छलफल थालिएको जानकारी दिए। केही दिनअगाडि कैलाली सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारीको स्वागत गर्दा पनि महोत्सवबारे छलफल भएको बताउदै उनले भने, ञप्रमुख राजनीति दलका कार्यक्रम भइरहेका छन्। आर्थिक गतिविधि चलायमान बनाउन महोत्सव हुनुपर्छ भन्ने हाम्रो माग हो।
आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवले यसवर्षदेखि निरन्तरता पाउने जानकारी दिए। पुस वा माघ महिनामा महोत्सव लगाउनको लागि स्थानीय प्रशासन र व्यवसायीसंग छलफल भइरहेको अध्यक्ष कुँवरले बताए। ०६३ सालदेखि सुदूरपश्चिम महोत्सव आयोजना गर्न थालिएकोमा ०७६ देखि भने हुन सहेको छैन।