दार्चुला, १२ मंसिर । दार्चुलाको अपिहिमाल गाउँपालिकाले ‘स्वच्छ अपि, धुँवामुक्त अपि’ कार्यक्रम अन्तरगत गाउँपालिकाका १३ सय घरधुरीलाई ग्यास सिलिण्डरसहित चुल्हो वितरण गरेको छ ।
चालु आर्थिक बर्ष २०७८/०७९ को कार्यक्रम अन्तरगत गाउँपालिकाका छ वटै वडामा ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए ।
गाउँपालिकाको ९५ लाख बजेटमा टेण्डरमार्फत कम्पनी छनोट गरेर कम्पनीले नै खरिद गरेको र गाउँपालिकाले निःशुल्क ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको गाउँपालिकामा कार्यरत कर्मचारी पानसिह धामीले बताए ।
ग्यास सिलिण्डरसहित चुल्हो सेट पाएपछि खुसी लागेको स्थानीय डम्बर सिंंह बोहराले बताए । दाउरा खोज्न निकै समस्या हुने र बनजंगल पनि बिनास भइरहेको उनले बताए । गाउँपालिकाले ग्यास सिलिण्डर वितरण गरेपछि बन संरक्षण हुनुका साथै दाउरा र धुँवाको झन्झट हट्ने बोहोराले बताए ।