धनगढी, २९ कार्तिक । कैलालीमा भूपेन्द्र बडुवालको हत्या भएको एक साता पुगेको छ। घटनामा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। तर, अहिलेसम्म हत्याको कारण भने पत्ता लगाउन सकेको छैन।
हालसम्म हत्यामा ९ जना आरोपीहरू पक्राउ परेका छन्। सुरूमा ८ जना पक्राउ परेकामा आइतबार प्रहरीले थप एक जनालाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले आइतबार लम्कीचुहा–५ का विकास खड्कालाई पक्राउ गरेको हो। यस्तै हत्याको भोलिपल्टै गत बुधबार प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय किशोर, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह रहेका छन्।
आरोपित पक्राउ परे पनि बडुवाल हत्याबारे कारण भने नखुलेको बताइएको छ। आरोपीहरू समातिए पनि घटना के कारणले भएको भन्ने स्पष्ट भइनसकेको प्रहरीको भनाइ छ।
यस्तै हत्या घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा दुई जनाको टोली कैलाली पठाइएको छ। सोमबार ब्युरोबाट टोली घटनास्थल प्रस्थान गरेको ब्युरोले जनाएको छ। टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको जनाइएको छ।गत मंगलबार राति लम्कीचुहा नगरपालिका १ का २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको थियो। बडुवालको टीकापुर नगरपालिका १ मा हत्या गरिएको थियो।