धनगढी, २१ कार्तिक । धनगढी उपमहानगरपालिका १९ मा रहेको बसपार्क आइतबारदेखि सञ्चालनमा आएको छ। गत भदौमा निर्माण सम्पन्न भएपनि स्थानीयको अवरोधका कारण उक्त बसपार्क सञ्चालनमा आउन केही समय लागेको थियो।
सघन शहरी विकास कार्यक्रम अन्तरगत २०७४ असार ३० सम्झौता गरि २०७८ भदौमा निर्माण कम्पनीले धनगढी उपमहानगरपालिकालाई उक्त बसपार्क हस्तान्तरण गरेको उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले बताए। २ करोड ७५ लाख १५ हजारमा देव एण्ड सायर मसिना जेबी महेन्द्रनगरले उक्त बसपार्क निर्माण गरेको इन्जिनियर भट्टले बताए।
बसपार्कको उदघाटन गर्दै धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको १७ कट्ठा जग्गामा उक्त बसपार्क निर्माण भएको उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बताए। उनले हाल बसपार्कमा ५० वटा बस अटाउने क्षमता रहेको बताउँदै, टर्मिनल भवन, पार्किङ एरिया, खानेपानी, घण्टाघर लगायतका संरचना निर्माण भएको बताए।बसपार्कबाट सुदूरपश्चिमका पहाडी जिल्ला लगायत काठमाडौं, पोखरा, बिराटनगरसम्म बस सञ्चालन हुने बताइको छ।