धनगढी, २१ कार्तिक । हिन्दुहरुको दोश्रो ठूलो चाड तिहार सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ। कार्तिक शुक्ल पक्ष सुरु भएसँगै पहाडी जिल्लाका विभिन्न शक्तिपीठमा जात्रा सुरु भएको हो।
दार्चुलाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा झण्डै एक महिनासम्म जात्रा लाग्ने गर्दछ। शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर चौडमा द्धितिया तिथिबाट जात्रा सुुरु भएको नगर उपप्रमुख राजमति बमले बताइन्।
यी मन्दिरहरुमा रातिको समयमा जात्रा लाग्ने गर्दछ। द्धितिया तिथीबाट सुरु भएको जात्रा पूर्णिमाको दिन सकिने छ।
जिल्लाको सबैभन्दा ठूलो शैल्यशिखर त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चतुरदशीमा सकिन्छ। जिल्लाको लेकमा क्षेत्रमा दशै तिहारभन्दा पनि जात्रालाइ बढी महत्व दिइने गरिन्छ।