बैतडी, १४ कार्तिक । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो केही सातायताको यहाँको कोरोना संक्रमणको अवस्था हेर्दा जोखिम बढ्दै गएको देखिएको छ ।
गत असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र दशैँतिहारका बेला घरबाहिर रहेका गाउँ फर्किएपछि यहाँ संक्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । उनले भने, “गाउँघरमा भिडभाड बढेको छ, परीक्षण हुनपाएको छैन, यसले जोखिम बढाएको छ ।” यसका साथै कात्तिक पहिलो साताको अविरल वर्षापछि विस्थापितहरु एकै ठाउँमा बसेकाले पनि जोखिम बढेको डा अवस्थीको भनाइ छ ।
बेमौसमी वर्षाले गर्दा गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका छन् । उनीहरुको परीक्षण गरिएको छैन । परीक्षण गर्यो भने संक्रमणको अवस्था अझै बढ्ने आकलन गरिएको छ ।
पछिल्लो समय कोरोना सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण नगर्ने गरेकाले पनि झनै जोखिम बढेको डा अवस्थीले बताए । “लक्षण देखिएको तथा बिरामी भएको धेरै समयपछि उपचारका लागि आउने गर्दा सङ्क्रमण बढ्दै गएको छ”, उनले भने, “समयमै उपचारका लागि नआउँदा अकालमै ज्यान समेत गुमाउने गरेका छन् । ”
पछिल्लो केही सातायता दिनहुँजसो सङ्क्रमणका कारण मृत्यु हुने गरेको छ । समयमै उपचारका लागि नआउदा मृत्यु हुने दर बढेको जनाइएको छ । उनले कोरोना संक्रमणसँग मिल्दा जुल्दा लक्षण देखिनासाथ हेलचेक्याई नगरी समयमै उपचार गर्न आग्रह गरे ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म करिब चार लाख व्यक्तिको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार तीन लाख ८४ हजार चार जनाको परीक्षण गरिएको छ । त्यसमध्ये ४७ हजार ७३१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । हाल यस प्रदेशमा १९८ सक्रिय संक्रमित रहेका छन् । सोमध्ये ३७ जना संक्रमित संस्थागत आइसोलेशनमा बसिरहेका निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । अन्य सबै होम आइसोलेशनमा बसिरहेका छन् । कोरोनाकै कारण यस प्रदेशमा ६०४ जनाको मृत्यु भइसेकेको छ ।
प्रदेशभर संक्रमितका लागि भन्दै एक हजार ७७२ आइसोलेशन बेड तयारी अवस्थामा रहेका छन् । यसका साथै प्रदेशका विभिन्न अस्पतालमा ९७७ बेड, भेन्टिलेटर ३५, आइसोलेशन बेड ४२१, एचडियू १३९, आइसियु ६९, कोभडि एचडियु बेड १२६, कोभिड सघन उपचार कक्ष ५४ र कोभिड भेन्टिलेटर २१ रहेका छन् ।
यस प्रदेशको भारतसँग सीमा जोडिएका पाँच नाकामा पनि परीक्षणको काम भइरहेको छ । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट र जौलजिवी, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा परीक्षणको काम भइरहेको छ । भारतबाट भित्रिनेको अनिवार्य रुपमा यी नाकामा परीक्षण भइरहेको छ ।