बझाङ,१३ कार्तिक । सुदूरपश्चिम प्रदेश सभामुख अर्जुनबहादुर थापाले बझाङ जिल्लामा बाढीपहिरोले क्षति पुर्याएको क्षेत्रको अवलोकन गरेका छन्।
असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण बझाङ जिल्लाका विभिन्न ठाउँमा पुगेको मानवीय तथा भौतिक क्षतिको शनिबार अवलोकन गरेका हुन्।
सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजार, कुइयापानी लगायतका क्षेत्रमा बस्दै आएका बाढीपहिरो पीडितको अवस्था बुझ्नुका साथै डुङ्गी खोलाले क्षति गरेको खेतीयोग्य जमिन, खोलाले बगाएका घर, पुल र लघु जलविद्युतको स्थलगत अवलोकन गरेका छन्।
सभामुख थापासँग बाढीपहिरो पीडित मष्टा गाउँपालिकाका रामचन्द्र रोकाया, जयपृथ्वी नगरपालिकाका रामबहादुर ऐडीले खोलाले बगाएका घरमा कतिपय घर पूरै क्षति भएका, कतिपय घरहरू आंशिक क्षति र जोखिममा रहेकाले बस्न समस्या भएकाले बस्ती सार्नुपर्ने र पुनर्वासको व्यवस्था गरिदिन आग्रह गरेका छन्।
बाढीपहिरो पीडितको गुनासो सुन्दै सभामुख थापाले प्रदेश सरकारमार्फत राहत प्याकेजका कार्यक्रम अगाडि बढाउने र बाढीपहिरो पीडितका लागि दीर्घकालीन योजना बनाउन र उठीबास भएका घरपरिवारको विकल्प खोज्नतर्फ लाग्ने बताए। टोलीले बाढीपहिराले क्षति पुर्याएको खप्तडछान्ना गाउँपालिका र अवरुद्ध जयपृथ्वी राजमार्गको पनि अवलोकन गर्ने भएको छ।
