काठमाडौं, पुष २७/ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा जान तयार रहेको बताएका छन्।
जनकपुरधाम–८ मा आज आयाजित शहीद सत्यनारायण पाठकको सालिक अनावरण कार्यक्रममा उहाँले कांग्रेसले सदैव न्यायालयको सम्मान गरेको उल्लेख गर्दै पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको बताए। उपसभापति निधिले भने, “प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा अहिले विचाराधीन छ। यसको अन्तिम उपचार अदालतले पक्कै पनि गर्छ।”
उनले अदालतबाट पुनःस्थापना वा निर्वाचन मात्र अहिलेको विकल्प रहेको बताए। उनले भने, “देश र जनतालाई प्रतिनिधिसभा चाहिएको छ। त्यसको संवैधानिक उपाय भनेको संसद् पुनःस्थापना वा निर्वाचन मात्रै हो।”
निधिले कांग्रेसलाई कसैले कमजोर नठान्न चेतावनी दिंदै भने, “कांग्रेस बाघ हो। बिलकुल शान्त भएर बसिरहेको हुन्छ तर जब सिकारको लागि तयार हुन्छ, यसको पञ्जाबाट कोही उम्किन पाउँदैन।”
उनले गणतन्त्र र सङ्घीयता उल्टाउने कोसिस गर्नेहरू आफैँ परास्त हुने बताए। उपसभापति निधिले नेपालमा अब राजतन्त्र कहिल्यै नफर्किने बताउँदै राजतन्त्रको सपना हेर्नेहरुलाई यस्ता दिवा स्वप्न नहेर्न आग्रह गरे। रासस
