धनगढी, १८ पुस/ कञ्चनपुरको पुनर्वास नगरपालिका १ की ७१ वर्षीया महिला हत्याका अभियुक्तलाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका ६ नानदेव ढाक्का ४९ वर्षीय दलबहादुर विकलाई सार्वजनिक गरेको हो।
पुस १५ गते पक्राउ परेका विकलाई हातहतियार तथा खरखजाना अनरतगत मुद्दा चलिरहेको थियो। सोहि मुद्दाको अनुसन्धानका क्रममा घर खानतलासी गर्दा मृतक महिलाको कान, घाँटी र नाकका गहनाहरु फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले बताए। ‘हामीले घटना भएकै दिनदेखि १२ जनालाई विशेष निगरानीमा राखेका थियौं,’ उनले भने, ‘तिनै १२ जनामध्येका विकको घरमा बन्दुकको गोली भेटिएपछि थप खानतलासी गर्दा मृतक महिलाका गहनाहरु भेटिएका हुन्।’
प्रहरीका अनुसार विकले पनि धारिलो हतियार प्रयोग गरि एकल महिला खन्टी भुलको हत्या गरेको स्विकारेका छन् । घरमा एक्लै बस्ने भुलको टाउको र निधारमा धारिलो हतियार (बसुलो) ले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ। मृतक भुलको घर नजिकै विककी छोरीको घर पनि छ।
उनी त्यहाँ आउजाउ गरिराख्थे। त्यहि क्रममा बृद्ध महिलासंग पनि सामान्य चिनजान भएको थियो। ति महिला घरमा एक्लै बस्दै आएकी थिइन्। पुस ११ गते राती उनको हत्या भएको हो। प्रहरीको प्रारम्भिक अनुसनधानका क्रममा गहनाकै लागि बृद्धाको हत्या भएको देखिन्छ ।