धनगढी, ३ पुस/ उच्च अदालत दिपायलको फैसलापछि टीकापुर घटना मुद्दामा कैद सजाय भुक्तान गरिरहेकामध्ये ४ जना प्रतिवादी रिहा भएका छन् ।
प्रतिवादी राजेश चौधरी, बृजमोहन चौधरी, सुन्दरलाल कठरिया र राजकुमार कठरियालाई रिहा गरिएको हो। जिल्ला कारागार कैलालीमा सजाय भुक्तान गरिरहेका उनीहरुलाई अदालतको पत्रपछि रिहा गरिएको जिल्ला कारागार प्रमुख महेन्द्र सिंह खड्काले जानकारी दिए।
उनीहरुको हकमा भएको फैसलामा उल्लेख छ, ‘प्रतिवादी राजेश चौधरी, बृजमोहन चौधरी, सुन्दरलाल कठरिया र राजकुमार कठरियाको हकमा मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १ नं.को कसुुर कायम गरी सोही महलको १३(३) नम्बर बमोजिम सजाय हुने ठहयाई भएको फैसला केही उल्टी भई निज प्रतिवादीहरुको कसुरमा संलग्नताको आधारमा उक्त महलको १७(२) नम्बर बमोजिम जनही ५ वर्ष कैद सजाय हुने ठहर छ।’
उनीहरु ५ वर्ष ६ महिना कैद भुक्तान गरिसकेकोले कैदमुक्त गरिएको हो । उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले बिहीबार सो घटना सम्बन्धी मुद्दाको सुनुवाइ गर्दै कैद गर्ने फैसला सुनाएको हो।