टेकसिहं धामी/
धनगढी, १ पुष/ बझाङ बित्थडचिर गाउँपालिका–७ स्थित सुनकुडा क्याम्पसमा लाखौंको बार्गेनिङ रोक्न खोज्दा क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष हरिष खड्कामाथि हातपात भएको छ । तरुण दल गाँउपालिका कमिटि अध्यक्ष हिक्मत मल्ल, कमल अधिकारी लगाएतको समुहले उपाध्यक्ष खड्कामाथि हातपात गरेका हुन् ।
२०६४ सालदेखी क्याम्पसले प्रयोग गर्दै आएको बाटोको मुआब्जा भन्दै तरुण दल अध्यक्ष मल्ल सहितको समुहले क्याम्पससंग १७ लाख बढी रकम बार्गेनिङ गरेका थिए ।
उनिहरुले क्याम्पस प्रमुख इन्द्र बिष्टको संलग्नतामा सुरुमा सात लाख दिने भएको सहमती रोक्न खोज्दा हातपात गरेका हुन । क्याम्पसको भवन निमार्ण गर्ने क्रममा जग्गाधनी दिपेन्द्र मल्लसंग मौखीक रुपमा बाटो दिने भन्दै भएको सहमतिको आधारमा प्रयोग गर्दै आएको झण्डै पाँच सय मिटर बाटोको मुआब्जा भन्दै बार्गेनिङ गरेका थिए ।
क्याम्पस प्रमुखको मिलेमतोमा प्रशासन र व्यवस्थापन समितिको निणर्य बिना नै उनिहरुलाई रकम दिन लागेको बेला रोक्न खोज्दा आफुमाथि हातपात भएको उपाध्यक्ष खड्काले बताए । उनले भने–‘क्याम्पसले बाटो अरुको जमीनमा प्रयोग गरिरहेको स्वभाविक हो तर यसरी क्याम्पसमा कुनै निणर्य र छलफल बिना रकम दिनु गतल भएको भन्दै रोक्ने क्रममा उनिहरु म माथि हातपात गरे ।’
आफुमाथि हातपात गर्ने मल्ल सहित तीन जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको तीन दिन बितिसक्दा समेत प्रहरीले उनिहरुलाई पक्राउ नगरेको खड्काले बताए । आफुलाई गम्भीर चोट लागेर धनगढीमा उपचार गराइरहेको सुनाए ।
उनले जग्गाधनिले क्याम्पसमा मुआब्जाको लागी कुनै निवेदन नदिएको र क्याम्पस स्थापना गर्ने क्रममा बाटो दिने मौखीक सम्झौताको आधारमा प्रयोग हुदैँ आएको बाटोको अहिले मल्ल सहितको समुहले क्याम्पस प्रमुखसंग मिलेर बार्गेनिङ गर्न खोजेको आरोप लगाए ।
क्याम्पसमा बिना निवेदन र क्याम्पस प्रशासन र व्यवस्थापन समितिको निर्णय बिना रकम नदिन भनेपछि आफुमाथि हातपात गरेको उनको भनाई छ ।
यता क्याम्पस प्रमुख बिष्टले बाटो बन्द गरेकोले पैशा दिन लागेको बताए । उनले भने–‘भवन निमार्णको समयमा कुनै सम्झौता भएको थिएन्, अहिले रकम माग्न आएको र क्याम्पसले आर्थिक स्रोत जुटाएर बाटोको मुआब्जा दिनुपर्छ ।’
उनले सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले नमुना क्याम्पस छनौट गरेपछि चार कोठे भवन निमार्ण गर्न बजेट विनियोजन गरेको र त्यहीबाट भएपनि जग्गाधनिलाई रकम दिनुपर्ने बताए ।
लामो समयदेखी काठ्माडौं बस्दै आएका जग्गाधनी दिपेन्द्र मल्लले आफुले सार्वजनिक कार्यमा कुनै अवरोध गर्न नचाहेको बताएका छन् । उनले क्याम्पसले आफुलाई नसोधी बाटो निमार्ण गरेको र पटक–पटक खबर गर्दा समेत कुनै वास्ता नगरेको बताए ।
उनले एकआपसमा बसेर छलफल गर्न पहल गरेको तर बाटो अवरोधनै गर्ने मेरो कुनै नियत नभएको बताए । उनले भने–‘गाउँका भाईहरुले बाटो बन्द गरेका छन् भन्ने सुनेको छु, मेरो जग्गामा बाटो गएको छ तर त्यसरी बन्द नै गर्ने पक्षमा आफु नरहेको बताए ।
उनले अब त्यस किसीमको विवाद उत्पन्न भएपछि क्याम्पस प्रशासनले समाधान गरेपछिमात्रै आफु बाटोको बिषयमा छलफल गर्ने बताए ।
उता बझाङका डिएसपि रुपक खड्काले उपाध्यक्ष खड्कामाथि हातपात गर्ने तीन जना विरुद्ध उजुरी दर्ता भईसकेको र चाडै पक्राउ गरीने बताए । उनले हिक्मत मल्ल लगाएत तीन जनाको नाममा उजुरी आएको र अहिले तीनै जना फरार रहेकोले पक्राउ गर्न नसकिएको बताए । उनिहरुको खोजीकार्य भईरहेको जानकारी दिए ।
मल्ल समुहले अहिले क्याम्पस जाने बाटो पुर्ण रुपमा बन्द गरेका छन् । बार्गेनिङ अनुसारको रकम दिए मात्रै बाटो प्रयोग गर्न दिने उनिहरुले माग गरेका छन् ।