काठमाडौं- बंगलादेशविरुद्ध जारि मैत्रीपूर्ण सिरिजको दोस्रो तथा अन्तिम खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुवाती ११ घोषणा भएको छ । प्रशिक्षक बालगोपाल महर्जनले अघिल्लो खेलबाट पाँच खेलाडी परिवर्तन गर्दै तुलनात्मक रुपमा आक्रामक रणनीति अबलम्बन गरेका छन् । गोलरक्षकमा किरण चेम्जोङ नियमित रहेका छन् । डिफेन्डर अजित भण्डारीको स्थानमा छिरिङ गुरुङ टोलीमा आएका छन् । छिरिङले यससँगै राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् ।
डिफेन्समा अनन्त तामाङ, विकास खवासले निरन्तरता पाएका छन् । सुमन अर्यालको स्थानमा रजिन धिमाल टोलीमा फर्केका छन् । रजिनले कोरोना संक्रमणका कारण अघिल्लो खेल गुमाएका थिए ।मिडफिल्डमा अघिल्लो खेलमा डेब्यु गरेका एरिक विष्ट र तेज तामाङ रहेका छन् । एरिकले विक्रमको स्थानमा खेल्न लागेका हुन् । विंगर रवि पासवानको स्थानमा दर्शन गुरुङले पहिलो रोजाइमा अवसर पाएका छन् । यस्तै अन्जन विष्ट र सुजल श्रेष्ठ नियमित छन् ।आक्रमणमा नवयुग श्रेष्ठको स्थानमा उनकै क्लबका सहकर्मी भरत खवासले खेल्दैछन् । भरतले नै टोलीको कप्तानी समेत सम्हाल्नेछन् । अघिल्लो खेलमा भरत बेन्चमा रहँदा किरणले टोलीको कप्तानी सम्हालेका थिए ।
नेपाललाई सिरिज उपाधि जित्न यस खेलमा कम्तिमा दुई गोलको अन्तरले जित्नुपर्ने हुन्छ । त्योभन्दा कमजोर नतिजा हासिल गरे बंगलादेशले उपाधि जित्नेछ । स्कोर २-० नै भएको अवस्थामा खेल टाइब्रेकरमा जानेछ ।
नेपालको सुरुवाती ११: किरण चेम्जोङ, अनन्त तामाङ, छिरिङ गुरुङ, विकास खवास, रजिन धिमाल, एरिक विष्ट, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, दर्शन गुरुङ, भरत खवास