एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिगमा लगातार तेस्रो जित हात पारेको छ । घरेलु मैदानमा आर्सननले नर्वेजियन क्लब मोल्देमाथि ४–१ को पूनरागमन सानदार जित निकालेको हो ।
दुई आत्मघाती गोल सहयोगमा खेलमा फर्किएको आर्सनलका लागि निकोलस पेपे र जोसेप विललकले गोल गरे । घरेलु टोलीका मार्टिन इलिङसेनले गरेको गोल सान्त्वना बन्यो ।
इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलको २२औं मिनेटमा मार्टिन इलिङसेनको गोलबाट आर्सनल पछि परेको थियो । ४५औं मिनेटमा क्रिस्टोफोर हेउगेनको आत्मघाती गोल सहयोगबाट आर्सनल खेलमा फर्किएको थियो ।
६२औं मिनेटमा सेरिफको आत्मघाती गोलबाट आर्सनलले खेलमा २–१ को अग्रता लिन सफल भयो । ७०औं मिनेटमा निकोलस पेपेले बुकायो साकाको पासमा गोल गर्दै आर्सनललाई जिततर्फ अघि बढाए । खेल सकिन दुई मिनेट बाँकी रहँदा जोसेप विललकले पेपेको पासमा गोल गर्दै आर्सनलाई सानदार जित दिलाए ।
यो जितसँगै समूह ‘ए’ मा लगातार तेस्रो जित निकालेको आर्सनलको ९ अंक पुगेको छ । पराजित मोल्दे ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । रापिड वेनको ३ तथा डुन्डल्क अंकविहीन छ । यही समूहको अर्को खेलमा अष्ट्रियन क्लब रापिड वेनले आयरल्यान्डको डुन्डल्कमाथि ४–३ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै समूहमा ३ अंक जोड्न सफल भएको छ ।
