धनगढीः धनगढीमा भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धरौटीमा छुटेका छन् ।भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी २५ हजार धरौटी बुझाएर छुटेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जिल्ला अदालत कैलालीमा सोमबार भएको थुनछेक बहसपछि वडाध्यक्ष जोशी २५ हजार धरौटी बुझाएर रिहा भएको जानकारी दिए ।जोशीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।
प्रहरीले जोशीलाई नागरिकता ऐन २०६३ बमोजिम कारवाही गर्न राय दिएको थियो । नागरिकता ऐनमा कुनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार सम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।