धनगढी, २९ असोज/ धनगढीकी वर्षा साउँदले राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनशिप’ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छिन । अनलाइन प्रतियोगितामा वर्षाले पदक प्राप्त गर्न सफल भएकी हुन । स्वर्ण पदक संगै बर्षाले दस हजार नगद पुरस्कारपनि प्राप्त गरेकी छिन ।
धनगढी कराते एकेडेमीकि कराते प्रशिक्षक रहेकी बर्षा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनशिप’ सहभागी भएकी थिइन् ।
उक्त अनलाइन प्रतियोगितामा महिला तर्फको रजत पदक कर्णाली प्रदेशकी एलिसा रास्कोटी मगरले प्राप्त गर्दा पुरुष तर्फको स्वर्ण सशस्त्र प्रहरी बलका सुभाष घतानेले बागमती प्रदेशका रबिन्द्र मानन्धरलाई पराजित गर्दै जिते ।
यस प्रतियोगिताका निर्णायक आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक बिजेता तथा १३औँ दक्षिण एसियाली खेलकुदमा नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक गंगाराम महर्जन र १३ औँ दक्षिण एसियाली खेलकुदका दोहरो स्वर्ण पदक बिजेता मण्डेकाजी श्रेष्ठ रहेका थिए ।
बिजेताहरुलाई प्रदान गरिने नगद पुरस्कारको प्रायोजन पुर्ब राष्ट्रिय कराते च्याम्पियन विजय तामाङ्गले गरेका थिए । काता र कुमिते दुवै स्पर्धामा सुदूरपश्चिम प्रदेशकी च्याम्पियन बर्षाले राष्ट्रिय खेलकुद परिषदद्वारा हालका बर्षहरुमा आयोजित सबै राष्ट्रिय प्रतियोगिताहरुमा पदक प्राप्त गरेकै छिन ।
उनले नेपालको प्रतिनिधित्व गर्दै बिभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरुमा समेत धेरै पदकहरु प्राप्त गरिसकेकी छिन जस मध्ये सन् २०१९ मा जापानमा आयोजित केयुकाई इन्टरनेशनल कराते च्याम्पियनशिपमा रजत पदक, जापानमै आयोजित कोफुकान इन्टरनेशनल कराते च्याम्पियनशिपमा कास्य पदक, दक्षिण एसियाली कराते महासंघले प्रत्येक २ बर्षमा आयोजना गर्ने दक्षिण एसियाली कराते प्रतियोगितामा कास्य पदक र काठमाडौँमा आयोजित प्रथम एपिएफ इन्टरनेशनल सोतो कराते च्याम्पियनशिपमा स्वर्ण पदक प्रमुख हुन् ।
बुवा बरिष्ठ अधिवक्ता राजेन्द्र बहादुर साउँदको प्रेरणा तथा प्रोत्साहनले करातेमा छुट्टै स्थान बनाउन सफल भएको बताउने वर्षा प्रारम्भ देखि नै कराते प्रशिक्षक ललित खत्री संग प्रशिक्षण प्राप्त गरिरहेकी छिन साथै कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यानरत पनि छिन ।
हाल करातेकी दोस्रो डान उनले धनगढी कराते एकेडेमको प्रशिक्षक र कोषाध्यक्षको जिम्मेवारी बहन गरेकी छिन भने नन्दिनाज एकेडेमीमा कराते प्रशिक्षकका रुपमा समेत कार्यरत छिन ।