काठमाडौं १५ असोज । क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार भएको स्वास्थ्य परीक्षणमा चन्दमा कोरोना पुष्टि भएको हो। यस्तै तीन दिन अघि गरिएको परीक्षणमा प्याकुरेलमा संक्रमण पुष्टि भएको क्यानले जनाएको छ ।
क्यानका अनुसार प्याकुरेलमा संक्रमण पुष्टि भएसँगै चन्दको पनि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको छ । चन्दमा केहिदिन यता रुघाखोकीलगायतका सामान्य लक्षण समेत देखिएका थिए । उनी अहिले काठमाण्डौंस्थित एक होटलको क्वारेन्टीनमा बसेका छन् भने प्याकुरेल होम क्वारेन्टीनमा बसेका छन् ।
क्यानका अध्यक्षसहितका पदाधिकारी असोज ६ गते चितवनमा बसेको कार्यसमितिको बैठकमा भाग लिएर केहि दिनअघि काठमाण्डौं फर्किएका थिए । क्यानका अनुसार चन्द ७ गते काठमाण्डौं फकिएका थिए भने प्याकुरेल ८ गते काठमाण्डौ फर्किएका हुन् ।
अध्यक्ष र सचिवमा संक्रमण पुष्टि भएसँगै अहिले सदस्यसहित सम्पूर्ण पदाधिकारी होम क्वारेन्टीनमा बसेको क्यानले जनाएको छ ।