एजेन्सी ११ असोज। कोरोना भाइरसविरुद्ध अहिलेसम्म सुरक्षित र प्रभावकारी खोप पत्ता लागेको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अहिले ४० भन्दा बढी सम्भावित खोपहरु मानवीय परीक्षणको विभिन्न चरणमा छन् ।
खोप बनाउने होडमा विश्वभरका वैज्ञानिक तथा सरकारहरु लागि परेका छन् । विश्वलाई नै ठप्प प्रायः बनाएको कोरोना भाइरस महामारीको एक मात्र अचुक उपायका रुपमा खोपलाई लिइएको छ र वैज्ञानिकहरु सामान्य भन्दा अति तीव्र गतिमा खोप विकासको प्रयासमा छन् ।
खोप तीव्र गतिमा विकासको प्रयास भइरहँदा त्यसको सुरक्षात्मक क्षमता र प्रभावकारितालाई लिएर चासो र चिन्ता समेत व्यक्त हुँदै आएको छ । यहिबीचमा चीनले अप्रमाणित अर्थात विकासको क्रममै रहेको कोरोना भाइरसविरुद्धको खोप हजारौँ मानिसलाई दिइरहेको खुलेको छ ।

द न्यूर्योक टाइम्समा प्रकाशित भएको खबर अनुसार चीनले अप्रमाणित खोप सरकारको स्वामित्वमा रहेको कम्पनीका कामदार, सरकारी अधिकारी, खोप कम्पनीका कर्मचारीसहितलाई लगाइ सकेको छ ।
यस्तै शिक्षक, सुपरमार्केटका कामदार तथा जोखिमयुक्त क्षेत्रको यात्रामा निस्कनेहरुलाई प्रमाणित नभईसकेको अर्थात विकासको क्रममा रहेको खोप दिने तयारी गरेको छ ।
विश्वले प्रमाणित खोप पाएको छैन, तर यसले चीन सरकारलाई रोकेको छैन । उसले निर्माणको चरणमा रहेको खोप दशौँ हजार मानिसलाई दिइएको छ, जो परम्परागत परीक्षणको प्रक्रिया भन्दा बाहिरका हुन् ।
चीनले कोरोना भाइरसविरुद्धका सम्भावित तीन खोपहरु औषधि कम्पनीकै कर्मचारीसहितलाई दिएको हो । अन्ततः ती खोप सुरक्षित र प्रभावकारी हुने अपेक्षासहित चीनले अहिले नै खोप दिइरहेको खबरमा उल्लेख छ ।
अधिकारीहरुले ती खोपहरु अझै धेरै व्यक्तिलाई दिने तयारी गरेका छन् । विश्वमा अरु कुनै पनि देशले परीक्षणको दायरा भन्दा बाहिरका मानिसलाई विकासको क्रममा रहेको अप्रमाणिमत खोप दिएका छैनन् ।
तेस्रो चरणको मानवीय परीक्षणको क्रममा रहेका ती खोपहरु चीन बाहिर स्वतन्त्र रुपमा परीक्षणमा सहभागी हुन चाहेका मानिसहरुलाई दिइएको छ र वैज्ञानिकहरुले त्यसको प्रभाव (सकारात्मक वा नकारात्मक) कस्तो छ र प्रभावकारिता कस्तो छ भनेर नजिकबाट नियाली रहेका छन् ।
तर चीनमा परीक्षणको परम्परागत प्रक्रिया भन्दा बाहिरका व्यक्तिलाई पनि खोप दिइएको र सो खोप पाएकाहरु निगरानीमा रहे–नरहेको पनि स्पष्ट नभएको न्यूयोर्क टाइम्सको खबरमा उल्लेख छ ।

अप्रमाणित खोपको गम्भीर असर मानव स्वास्थ्यमा पर्न सक्छ । सोही कारण वैज्ञानिक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बृहत स्तरमा मानवीय परीक्षण गरी त्यसको नतिजाको विश्लेषण पछि मात्रै कुनै पनि नयाँ खोपलाई सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गर्ने गरिन्छ ।
अप्रभावकारी खोपले सुरक्षाको गलत अवधारणा सिर्जना गरी झन बढी संक्रमण तर्फ बढाउन सक्ने जोखिम रहन्छ ।
अहिले चीनमा बिस्तारित मात्रामा प्रयोग भइरहेको अप्रमाणित खोपले व्यक्तिको स्वीकृतिको विषयलाई पनि चासोको केन्द्रमा ल्याएको छ । सरकारी स्वामित्वका कम्पनीका कामदारलाई स्वइच्छा विपरित बाध्य पारेर खोप दिइएको हुन सक्ने भन्दै चिन्ता व्यक्त भएको छ ।
तस्बिरहरु : रोयटर्स, इपिए र गेट्टी इमेज