मुम्बई, एजेन्सी- बाहुबली नायक प्रभासले आफ्ना जिम ट्रेनर लक्ष्मण रेड्डीलाई महँगो उपहार दिएर छक्क पारेका छन् । उनले भारु ७३ लाख ३० हजार मूल्यको रेन्ज रोभर एसयूभी गाडी गिफ्ट दिएका हुन् ।८ वर्षदेखि संगतमा रहेका रेड्डीलाई बाहुबली नायक प्रभासले आफ्नो जीवनको ‘विशेष व्यक्ति’ भनेका छन् । जिम ट्रेनर रेड्डीले नै बाहुबलीका लागि प्रभासलाई सुगठित शरीर बनाउन तालिम दिएका थिए ।
शारीरिक सुगठनका लागि सन् २०१० को मिस्टर वल्र्ड भइसकेका रेड्डी महँगो उपहारका लागि योग्य रहेको प्रभासका प्रशंसकहरूको तर्क छ । सञ्चारमाध्यमहरूका अनुसार प्रभासको सुगठित शरीर हुनुको श्रेय रेड्डीलाई जान्छ ।सन् २०१५ मा प्रदर्शनमा आएको एसएस राजामौलीद्वारा निर्देशित ‘बाहुबली’ भारतीय सिने जगत्का लागि त्यसबेला सर्वाधिक लागतको फिल्म थियो । त्यसले नाफा पनि अपेक्षित रूपमा धेरै गरेको थियो । दुई सिरिजमा निर्मित बाहुबलीको दोस्रो भाग २०१७ मा प्रदर्शन भएको थियो । भारु १८० करोड को बजेटमा निर्मित ‘बाहुबली–द बिगिनिङ’ ले बक्सअफिसमा ६५० करोडको व्यापार गरेको थियो भने २५० करोडको लागतमा निर्मित ‘बाहुबली–द कन्क्लुजन’ ले १८१० करोडको व्यापार गरेको थियो ।
तेलुगु भाषाका चलचित्रबाट उदाएका ४० वर्षीय प्रभासले हालसम्म २१ वटा फिल्ममा अभिनय गरेका छन् । हालसम्म प्रदर्शितमध्ये १७ वटा तेलुगु भाषाका छन् । सन् २०१९ मा प्रदर्शन भएको ‘साहो’ तेलुगु, तमिल र हिन्दी भाषामा थियो । बाहुबली मूलतः तेलुगु र तमिल भाषामा निर्माण गरिएको भए पनि त्यसलाई हिन्दीमा डबिङ गरेर समेत रिलिज गरिएको थियो । प्रभासको प्रदर्शनको तयारीमा रहेको आगामी फिल्म ‘राधेश्याम’ तेलुगु र हिन्दी भाषामा छ ।
जिमका क्रेजी प्रभासले बाहुबलीका लागि रेड्डीसँगै फिटनेस तालिम लिएका थिए । फिल्म छायांकन सुरु हुनु ८ महिनाअघिदेखि तालिममा रहेका उनले त्यसबेला आफ्नो वजन २० किलो बढाएका थिए । फिल्म छायांकन पूरा भएपछि वजन फेरि घटाए । प्रभासले आफ्ना लागि घरमै जिम राखेका छन् । निर्माणको क्रममा रहेको फिल्म ‘आदि पुरुष’ का लागि यतिबेला फेरि रेड्डीसँगै जिमको तालिम लिइरहेका छन् । ओम राउतको निर्देशनमा बन्ने ‘आदिपुरुष’ २०२२ मा प्रदर्शनमा आउने घोषणा भइसकेको छ । यसमा मुख्य पात्रको भूमिकामा रहने प्रभासको सुगठित शरीर देखिने बलिउडका सञ्चारमाध्यमहरूले जनाएका छन् ।