एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले आफूलाई क्याटलान क्लब बार्सिलोनाको इतिहासकै उत्कृष्ट खेलाडीको सुचिमा रुपमा स्थापित गरेका छन् । मेस्सीको बार्सिलोना करिअरको अन्त्य नजिकिंदै जाँदा अर्का युवा खेलाडीले क्लबमा छाप बसाएका छन् ।
बार्सिलोनाको एकेडेमी ला मासियाकै उत्पादन अन्सु फातीले पछिल्लो सिजन क्लबका लागि डेब्यु गर्दै धेरै कीर्तिमान राखे । स्पेनिस सिनियर टोलीका लागि यसै साता डेब्यु गरेका उनले आइतबारको खेलमा गोल समेत गरे । क्लब फुटबल र अन्तर्राष्ट्रिय फुटबल दुवैमा राम्रो सुरुवात पाएका उनी १८ वर्ष पनि पुगेका छैनन् ।
त्यसो त लिओनेल मेस्सीले पनि टिनएजमै सिनियर फुटबल खेल्दै आफूलाई विश्व फुटबलको अब्बल प्रतिभाको रुपमा स्थापित गरेका थिए । जसरि रोनाल्डिन्होले मेस्सीलाई बार्सिलोनामा स्थापित गर्न सहयोग गरे, मेस्सीले फातीलाई त्यस्तै वातावरण दिएर अगाडी बढ्ने हौसला दिएका छन् । फाती र मेस्सीको करिअरको सुरुवातको तुलना गर्दा यस्तो अवस्था छ :
बार्सिलोनामा सिनियर डेब्यु :
फातीले अगस्ट २५, २०१९ मा ओसासुनाविरुद्ध ७८ औं मिनेटमा मैदान प्रवेश गर्दै बार्सिलोनाका लागि सिनियर डेब्यु गरेका थिए । उनले १६ वर्ष २ सय ९८ दिनको उमेरमा क्लबका लागि पहिलो खेल खेलेका थिए । उनी बार्सिलोनाका लागि कम उमेरमा डेब्यु गर्ने सुचिमा दोस्रो स्थानमा रहे । सेभिल्लाबाट १० वर्षको उमेरमा ला मासिया आएका उनले ६ वर्षपछि सिनियर टोलीमा खेले ।यता मेस्सीले अक्टोबर १६, २००४ मा एस्पान्योलविरुद्ध अन्तिम ८ मिनेट खेल्दै डेब्यु गरेका थिए । उनी त्यसबेला क्लबका लागि डेब्यु गर्ने कान्छा खेलाडीको सुचिमा दोस्रो स्थानमा थिए । अर्जेन्टिनाको नेवेल्स ओल्ड ब्वाइजबाट १३ वर्षको उमेरमा ला मासियामा आएका उनले ३ वर्षपछि सिनियर टोलीमा अवसर पाएका थिए ।
पहिलो बार्सिलोना गोल :
फातीले क्लबका लागि डेब्यु गरेको ६ दिनपछि नै बार्सिलोनाका लागि पहिलो गोल गरे । उनकै गोलमा बार्सिलोनाले ओसासुनासँग २(२ को बराबरी खेलेको थियो । उनी यस गोलसँगै बार्सिलोनाका लागि लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए । उनी ला लिगगाा भने गोल गर्ने कान्छी खेलाडीको सुचिमा तेस्रो स्थानमा रहे ।
मेस्सी पनि आफ्नो पहिलो गोल गर्ने क्रममा लिगमा गोल गर्ने बार्सिलोनाका सबैभन्दा कान्छा खेलाडी बनेका थिए । उनले १७ वर्ष ३ सय ३१ दिनको उमेरमा अल्बासेटेविरुद्ध गोल गरेका थिए । उनको गोलमा रोनाल्डिन्होले असिस्ट दिएका थिए ।
पहिलो च्याम्पियन्स लिग गोल
फातीले डिसेम्बर १०, २०१९ मा इन्टर मिलानविरुद्ध गोल गर्दै अर्को इतिहास रचे । उनि क्लबका लागि मात्र नभएर च्याम्पियन्स लिग इतिहासकै सबैभन्दा कान्छा गोलकर्ता बने । उनकै गोलमा बार्सिलोनाले इन्टर मिलानलाई २(१ ले पराजित गरेको थियो । उक्त गोलमा लुइस सुआरेजले असिस्ट गरेका थिए ।
मेस्सीले च्याम्पियन्स लिगमा गोल गर्न भने दोस्रो सिजन कुर्नुपरेको थियो । उनले नोभेम्बर २, २००५ मा पानाथिनाइकोसविरुद्ध गोल गरेका थिए । त्यसयता मेस्सीले यस प्रतियोगितामा कुल १ सय १३ गोल गरेका छन् ।