एजेन्सी – कप्तान सर्जियो रामोसको दुई गोल सहयोगमा स्पेनले युईएफए नेसन्स लिगमा सानदार जित हात पारेको छ । स्पेनले नेसन्स लिगको दोस्रो खेलमा युक्रेनमाथि ४–० को सानदार जित निकालेको हो ।स्पेनको जितमा कप्तान रामोसले दुई गोल गर्दा युवा स्टार अन्सु फाती र फेरान टोरेसले गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा १ गोल सम्भव भएको थियो ।
घरेलु मैदान स्टेडियो अल्फ्रेडो डि स्टेफानोमा आइतबार राति भएको एकपक्षीय खेलमा स्पेनले खेलो तेस्रो मिनेटमा नै कप्तान रामोसो गोलबाट अग्रता बनाएको थियो । अन्सु फातीमाथि सर्गी क्रिभस्टभले पेनाल्टी बक्समा फल गरेपछि प्राप्त पेनाल्टीमा रामोस चुकेनन् । ११औं मिनेटमा रामोसकै पासमा डेब्यु खेल खेलिरहेका सर्जियो रिगुइलनको प्रहार पोस्टबाट थोरै बाहिरिदा स्पेन अग्रता दोब्बर पार्नबाट चुक्यो ।
१६औं मिनेटमा थियागो अलकान्ताराको क्रसमा कप्तान रामोसको हेडरलाई युक्रेनका गोलरक्षक एन्ड्रि प्याटोभले दोस्रो प्रयासमा बचाए । १८औं मिनेटमा जेरार्ड मोरेनोको पासमा अन्सु फातीको प्रहारमा गोलरक्षक नै बाधक बने । त्यसपछि पनि स्पेनले लगतार पोस्ट आक्रमण बुन्दा युक्रेनको रक्षापङ्ति निकै व्यस्त बनेको थियो ।
२१औं मिनेटमा जेसस नाभासको प्रहारलाई बोग्डानले ब्लक गरे । २३औं मिनेटमा अन्सु फातीको प्रहार पोस्टबाट थोरै बाहिरियो । २६औं मिनेटमा ड्यानिय ओल्मोको लो क्रसमा जेरार्ड मोरेनोलाई डिफ्लेक्ट हुदै आएको बललाई फातीले गरेको ओभर हेड किकलाई माइकोला माटीभियान्कोले गोललाईनबाट बचाए ।
२९औं मिनेटमा कप्तान रामोसले ड्यानिल ओल्मोको कर्नरमा हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई २–० ले अघि बढाए । त्यसको तीन मिनेटपछि नै १७ वर्षीय युवा स्टार फरवार्ड फातील्े गोल गर्दै स्पेनलाई ३–० को अग्रता दिलाए । सिनियर टोलीबाट दोस्रो खेल खेलिरहेका फातीले सर्जियो रिगुइलनको पासमा गोल गर्न सफल भएका थिए ।४१औं मिनेटमा युक्रेनले पहिलो पोस्ट आक्रमण बुन्दा माइहालाईचिन्कोको प्रहारलाई गोलरक्षक डेभिड हे गेयाले सहजै नियन्त्रणमा लिए । ४४औं मिनेटमा अलकान्ताराको प्रहार पोस्टबाट थोरै बाहिरियो ।
स्पेनले दोस्रो हाफमा पनि युक्रेनलाई दवावमा राखेको थियो । ६२औं मिनेटमा ओल्मोको प्रहारलाई गोलरक्षक प्याटोभले बचाए । लगत्तै मोरेनोले गोल गरेपनि मान्यता पाएन । झन्डै २५ यार्डबाट रिगुइलनको शक्तिशाली प्रहारलाई गोलरक्षक प्याटोभले नियन्त्रणमा लिन नसकेको बललाई अफसाइड पोजिसनमा रहेका मोरेनोले गोल गरेपनि मान्यता पाएन ।७७औं मिनेटमा ओस्कार रोड्रिग्वेजको प्रहार बारमा लागेर बाहिरदा स्पेन अर्को गोल थप्न असमर्थ रह्यो । ७८औं मिनेटमा अन्सु फाती अर्का गोल गर्नबाट चुके । ८४औं मिनेटमा अलकान्ताराको क्रसमा फेरान टोरेसले गोल गर्दै स्पेनको फराकिला जित पक्का गरे । इन्ज्युरी समयमा यारेमचुकले प्रहारमा स्पेनका गोलरक्षक डेभिड हे गेया नै बाधक बन्यो ।
जितसँगै स्पेन लिग ‘ए’ ४ मा ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित युक्रेन ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा २ अंक जोडेर जर्मनी तेस्रो तथा १ अंकसहित स्वीट्जरल्यान्ड पुछारमा छ ।
