एजेन्सी – नेदरल्यान्डले युइएफए नेसन्स लिगको पहिलो खेलमा पोल्यान्डमाथि जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा नेदरल्यान्डले पोल्यान्डमाथि १–० को झिनो जित हात पारेको हो ।
योहान क्रुफ एरिना आम्सटर्डममा नेदरल्यान्डको जितमा दोस्रो हाफमा स्टेभन वर्गवाइनले गरेको गोल नै निर्णायक बन्यो । उनले ६१औं मिनेटमा हान्स हाटेबोइरको पासमा गोल गरेका थिए ।
खेलको शुरुवातदेखि नै पोल्यान्डलाई दवावमा राखेको हल्यान्डले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । २१औं मिनेटमा नेदरल्यान्डले पहिलो आक्रमण बुनेको थियो । क्विन्सी प्रोमिसको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो ।
३२औं मिनेटमा पोल्यान्डका पियाटकिको प्रहारलाई नेदरल्यान्डका गोलरक्षक जस्पर सिलिसनले सहजै बचाए । पहिलो हाफको इन्ज्युरी समयमा जर्जिन्हो वाइनाल्डमको पासमा फ्रेन्की डि जोङको प्रहार पोस्टमा लागेर फर्कदा नेदरल्यान्ड अग्रता लिनबाट चुक्यो ।
४९औं मिनेटमा वर्गवाइनले अर्को अवसर खेर फाल्यो । ५८औं मिनेटमा भर्जिल भान डाइकको उत्कृष्ट थ्रु बलमा मेम्फिस डिपाएले फ्लिक गर्ने प्रयास गरेपनि पोल्यान्डका गोलरक्षक वजिसियच सिजेनाइले विफल पारिदिए । त्यसको तीन मिनेटपछि नेदरल्यान्डले वर्गवाइनको गोलबाट खेलमा १–० को अग्रता लिन सफल भयो ।हान्स हाटेबोइरको गोलरक्षकलाई बिट गर्दै दिएको पासमा मेम्फिस डिपाए चुकेपनि अनमार्क रहेका वर्गवाइनले गोल गर्दै नेदरल्यान्डलाई अग्रता दिलाए । नेदरल्यान्डबाट १०औं अन्तर्राष्ट्रिय खेल खेलेका वर्गवाइनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । त्यसपछि थप गोल निस्कन नेरदल्यान्ड १–० ले विजयी हुन सफल भयो ।
यस्तै अन्तरिम प्रशिक्षक ड्वाइट लोडेजवजेसले आफ्नो पहिलो प्रशिक्षणमा टोलीलाई सफलता दिलाएको छ । मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान क्याटलान क्लब बार्सिलोनाको मुख्य प्रशिक्षब बनेपछि दि रोयल डच फुटबल फेडेरेसन ९केएनभीबी० ले यसअघि सहायक प्रशिक्षक रहेका ड्वाइट लोडेजवजेसलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको थियो । यही समूहको अर्को खेलमा इटली बोस्निया एन्ड हर्जगोभिनासँग १–१ गोलको बराबरीमा रोकिएपछि नेसन्स लिगको समूह ‘ए’ को ४ मा रहेको नेदरल्यान्ड ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बोस्निया दोस्रो, इटली तेस्रो तथा पोल्यान्ड पुछारमा छ ।