एजेन्सी – सुपर स्टार लियोनल मेस्सी बार्सिलोनामा बस्न सक्ने सम्भावना बढेको छ । मेस्सीका एजेन्ट समेतका पिता जर्ज मेस्सी र बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउबीच बिहीबार उनको भविष्यका विषयमा कुराकानी भएको थियो ।
मेस्सीले केहि दिन अघि पत्र लेख्दै क्लब छाड्न चाहेको बताएका थिए । तर, क्लब भने उनलाई सहजै गुमाउने पक्षमा छैन । मेस्सी र क्लबबीच तिक्तता बढ्दै गएपछि जर्ज छलफलका लागि अर्जेन्टिनाबाट बार्सिलोना पुगेका थिए । मेस्सीका पिताले अध्यक्ष बार्टोमेउलाई छोराले क्लब छाड्न चाहेको प्रष्ट पारेको समाचारमा बताइएको थियो ।
बार्टोमेउले भने छलफल सकारात्मक भएको उल्लेख गरेका छन् । उनको विश्वासमा ३३ वर्षे मेस्सीले अझै एक सिजन क्लबलाई नेतृत्व दिनेछन् । ‘दुवै पक्षले आ आफ्नो विचार राख्यौं । छलफल राम्रो भयो । एकअर्का बीचको गुनासा पनि राखियो,’ बोर्टोमेउलेले भने, ‘छलफलका क्रममा मेस्सी बार्सिलोनामै रहने सम्भावना पनि छ ।’
मेस्सी र क्लबबीचको सम्झौता आउने जुनमा सकिनेछ । त्यसअघि मार्चमा क्लबको अध्यक्षको निर्वाचन हुँदैछ । मेस्सी क्लबमा बस्न राजी भएको खण्डमा आफु राजीनामा समेत गर्न तयार रहेको बार्टोमेउले बताएका थिए । सुरुवातमा बार्टोमेउले अर्को दुई वर्षको थप सम्झौताका लागि प्रस्ताव गरेका थिए । तर, मेस्सीको पक्ष भने त्यसका लागि तयार देखिदैन । थप सम्झौता नभएपनि अहिले भएको सम्झौता सम्म भने मेस्सी बार्सिलोनामै बस्ने सम्भावना देखिएको छ ।