एजेन्सी – युइएफए नेसन्स लिगमा वेल्सले फिनल्यान्डमाथि झिनो जित निकालेको छ । वेल्सले फिनल्यान्डलाई उसकै मैदानमा १–० को झिनो जित निकालेको हो । बिहीबार राति भएको खेलमा वेल्सको जितमा काइफर मोरेले खेल सकिन १० मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक बन्यो ।
प्रतिस्पर्धात्मक खेलको चौथो मिनेटमा नै वेल्सका ड्यानियल जेम्सको क्रसमा काइफर मोरेले हेडरमार्फत गोल गरेपनि मान्यता पाएन । उनले गोल गर्नुअघि विपक्षी खेलाडीलाई धकेलेको देखिएो थियो । सातौ मिनेटमा जेम्सकै क्रसलाई फिनल्यान्डका गोलरक्षक लुकासले विफल पारे ।
रिवाउन्डमा बेल पुग्न ढिला हुदा ओजालाले क्लियर गर्दै सम्भावित गोल टारे । १८औं मिनेटमा बेलको प्रहार बाहिरियो । २४औं मिनेटमा फिनल्यान्डका टिमु पुक्कीले गोल गरेपनि उनको गोलले पनि मान्यता पाएन । उनले बल पाउनुअघि नै जोनी काउकोले वेल्सका खेलाडीलाई फउल गरिसकेका थिए ।
५१औं मिनेटमा फिनल्यान्डले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । कर्नरबाट आएको बललाई जोइल पोजनपालोको हेडर पोस्टमा लागेर फर्कदा चार यार्डमा रहेका लियो भइसानेनको प्रहारले पोस्टको गति लिन सकेन ।८०औं मिनेटमा ड्यानियल जेम्सको पासमा काइफर मोरेले गोल गर्दै वेल्सलाई १–० को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा वेल्सले महत्वपुर्ण जित दर्ता गर्यो ।
यही समूहको अर्को खेलमा बुल्गेरिया र आयरल्यान्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जितसँगे वेल्सले ग्रुप ‘बी’ को ४ मा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । फिनल्यान्ड पुछारमा रहँदा बुल्गेरिया र आयरल्यान्ड दोस्रो र तेस्रो स्थानमा छ ।अब दोस्रो खेलमा वेल्सले बुल्गेरियासँग तथा आयरल्यान्ड र फिनल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।