डोटी २७ साउन- डोटीमा सोमबार राती करिब १ बजेतिर घरपछाडीबाट आएको पहिरोले च्यापिएर ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
डोटीको आदर्श गाउँपालिका वडा नं। १ बाँझककानी, खलगडाका अन्दाजी ३५ वर्षे लोगे लुहारको घर पछाडीबाट आएको पहिराले घर भत्किंदा उनकी ३५ वर्षीया श्रीमती विष्णा, ११ वर्षको छोरा पारस, ७ वर्षको छोरी शिरु र ४ वर्षकी छोरी जेनिशाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिए ।
घटनामा परी घरमुली लोगे लुहारसँगै उनकी आमा ५२ वर्षकी पाना लुहार, आदर्श गाउँपालिका वष नं। ४ घर भई पाहुनाको रुपमा आएकी लोगे लुहारकी शाशु आमा झाङरी बिक र १३ वर्षका उनका साला इन्द्र बिक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था मध्यम खालको रहेको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थल मुचुल्का तयार भईरहेको आदर्श गाउँपालिका वडा नं-१ का वडा अध्यक्ष नरेश खड्काले जानकारी दिए । घाइतेमध्ये लोगेका साला इन्द्र बिकको अवस्था सामान्य रहेको र अन्य ३ जनालाई दिपायलस्थित शैलेश्वरी अस्पताल पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । मृत्यु भएका चारै जनाको शव पोष्टमार्टम गर्ने नगर्ने विषयमा छलफल भईरहेको पनि प्रहरीले जनाएको छ ।