धनगढी, २६ साउन- धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा कैलालीका २ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालले जारी गरेको प्रेस नोट अनुसार पछिल्लो २४ घण्टामा चार सय तीन जनाको कोरोना परीक्षण भएकोमा कैलालीको गोदावरी नगरपालिकाका १९ बर्षीय २२ बर्षीय युवकमा संक्रमण पुष्टि भएको हो।
योसंगै कैलालीमा एक हजार दुई सय ७६ जनामा संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिममा भने संक्रमितको संख्या चार हजार नौँ सय ३७ पुगेको छ। प्रदेशमा चार हजार बढि संक्रमित निको भएर घर फर्किसकेका छन् भने नौँ जनाको मृत्यु भएको छ।
सुदूरपश्चिममा ८४ कोरोना संक्रमित डिस्चार्ज
सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट आईतवार थप ८४ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कोरोना मुक्त भएर थप ८४ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।
आईतवार अछामका ५८, कञ्चनपुरका २२, डोटीका तीन र कैलालीका एक जनालाई डिस्चार्ज गरिएको उनले बताए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या चार हजार ४४ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय तीन, अछामका ६ सय ६७, डोटीका पाँच सय ७३, कञ्चनपुरका पाँच सय ३९, बैतडीका तीन सय चार र डडेल्धुराका दुई सय ९९ जनालाई डिस्चार्ज गरिएको छ।
बाजुराबाट चार सय ३५, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस ८ सय ८२ मात्रै रहेका छन्। सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार नौँ सय ३५ पुगेको छ भने नौँ जना संक्रमितको मृत्यु भएको छ।