धनगढी, २५ साउन/ शुक्लाफाँटा नगरपालिकाले भारतबाट घर फर्किएकालाई कार्यालयको सभा कक्षमा राखेपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । भारतबाट घर फर्किएका ११ स्थानीयलाई शनिबार राति नगरपालिकाको सभा कक्षमा राखिएको हो । स्वास्थ्य परीक्षण नगरी नगर सभा कक्षमा राखिएपछि कोरोना जोेखिम बढेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
कर्मचारीहरु कामकाज बन्द गरी कार्यालय बाहिर बसेका छन् । दिउँसो १ः०० बजेसम्म कामकाज बन्द गरिएको छ ।
शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशन सिंह थापाले स्वास्थ्य जाँच नगरी सभाकक्षमा राखिएकाले समस्या उत्पन्न भएको बताए ।
‘चेकजाँच बिना राखेकोले सेवाग्राही तथा कर्मचारी असुरक्षित छन्’ उनले भने, ‘सेवाग्राहीलाई सेवा प्रवाह गर्ने मामिलामा कुनै अवरोध हुन्न ।’ कर्मचारीहरु कामकाज बन्द गरी आन्दोलनमा उत्रिएपछि नगर प्रमुख दिल बहादुर ऐर समस्या समाधानका लागि छलफल अघि बढाएका छन् । केही समयपछि नगरपालिकामा बैठक बस्ने तयारी गरिएको छ ।
शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगत बहादुर सिहले शनिबार राति १२ बजे झलारी बजारमा आएका स्थानीयलाई आपतकालिन अवस्थामा नगर सभा कक्षमा राखिएको बताए । आज सबैको चेकजाँच गरि उचित व्यवस्थापन हुन्छ’ उनले भने । कञ्चनपुरमा भारतबाट घर फर्किएका अधिकाँशमा कोरोना संक्रमण देखिएको छ ।