धनगढी, २४ साउन/ भारतको धार्चुलाका व्यापारीहरुले नेपाल भारत जोड्ने पुल नियमित रुपमा खोल्न माग गरेका छन् । भारतको पिथौरागढ जिल्लाको धार्चुला तहसिललाई ज्ञापनपत्र दिँदै नेपाल भारत जोड्ने पुल नियमित रुपमा खोल्न माग गरेका हुन् ।
भारतको धार्चुला बजारका ग्राहकहरु नेपाली भएकाले कोरोना प्रभावले सीमा सिल हुँदा धार्चुलाको ब्यापार निकै ओरालो लागेको छ । सामान किनमेल गर्न नेपालीहरुको भिडभाड हुने धार्चुला बजारमा ग्राहक नहुँदा कयौं पसल बन्द रहेका छन् ।
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगास्थित पुल बन्द हुँदा ब्यापार न्यून हुन थालेपछि भारतीय ब्यापारीहरुले पुल नियमित खोल्न माग गरेका छन् ।
धार्चुलाका उपजिल्ला अधिकारी अनिल कुमार शुक्लाले पत्र संख्या ७७० मा पिथौरागढ जिल्ला अधिकारीलाई पत्र लेख्दै पुल खोल्ने वा पूर्ण सिल गर्ने विषयमा दिशानिर्देश गर्न अनुरोध गरेका छन् ।