काठमाडौं । नोभेल कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । विगत करिब पाँच महिनादेखि विद्यालयहरु बन्द छन् । विद्यालयहरुमा क्वारेन्टाइन र आइसोलेसन सेन्टरहरु स्थापना गरिएका छन् ।
तर, शिक्षा मन्त्रालयले भने भदौ १ गतेदेखि नै भर्ना सुरु गर्न गराउन निर्देशन जारी गरेको छ । शिक्षा मन्त्रालयले भने विद्यालयमा जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुने गरी विद्यलायका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका मन्त्रालयले जारी गरेका निर्देशन कार्यन्वयन गराउन आग्रह गरिएको छ ।
जस अनुसार शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्ने, २०७७ भदौं १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको संख्यात्मक विवरण यकीन गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउन निर्देशन दिइएको छ ।
त्यसैगरी नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउने, विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ विद्यालय शिक्षकहरू विद्यालय पुगिसक्ने व्यवस्था मिलाउने, विद्यालय भवन तथा परिसरमा क्वारेन्टिन र आइसोलेशन सम्बन्धी कार्यहरू सञ्चालन नगर्ने, क्वारेन्टिन र आइसोलेशनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने, विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर नपर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड ९१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरू नराख्ने निर्देशन दिइएको छ ।
