सुर्खेत
साउन २०
कर्णाली प्रदेश सरकारले प्रदेश भित्रिने नागरिकहरुले अनिवार्य पीसीआर रिपोर्ट ल्याए मात्रै प्रदेशमा प्रवेश गराउने तयारी थालेको छ । छिमेकका सुदूरपश्चिम र ५ नम्बर प्रदेशमा कोरोना संक्रमण बढ्दै जान थालेपछि प्रदेश भित्रिने नागरिकहरुको नाकामा अनिवार्य पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरेको हो । ‘पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमित देखिन थालेका छन्, छिमेकी प्रदेशहरुमा पनि संक्रमण बढ्दो छ,’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘कर्णालीलाई कोरोनासँग जोगाउन नाकामै परीक्षणको व्यवस्था मिलाउँदैछौं।’
मुख्यमन्त्री शाहीले कर्णालीमा आउने नागरिकहरुले अनिवार्य पीसीआर परीक्षण रिपोर्ट देखाए मात्रै प्रदेशमा प्रवेश गराउने बताए बताए । ‘कोरोना संक्रमण रोकथामका लागि प्रदेश सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश भित्रिनेलाई नाकामै र समुदायस्तरमा पीसीआर परीक्षणको काम एकै चोटि सुरु गर्दैछौं।’ उनले कर्णालीका १८ लाख जनसंख्यालाई लक्षित गरेर मास्क र सेनिटाईजर वितरणको तयारी भइरहेको बताए । ‘किन्न सक्नेले आफै किन्नुहुन्छ, नसक्नेहरुका लागि प्रदेश सरकारले एक जना बराबर दुई वटा मास्क उपलब्ध गराउँछ,’ उनले भने, ‘मास्क नलगाउनेलाई कडाईका साथ कारवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकेका छौं।’
प्रदेश सरकारले १० वटै जिल्लामा अक्सिजन प्लान्टसहितका एक–एक सय वटा आइसोलेसन सेन्टर र ७९ वटै पालिकामा ५०–५० बेडका आइसोलेसन कक्ष स्थापना गर्ने जनाएको छ । उनले पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएकाले फेरि लकडाउन बन्दाबन्दीका लागि संघीय सरकारलाई सुझाव दिइएको बताए । ‘सुरुमै लकडाउन नभएको भए अहिले ठूलो संकट आइसक्थ्यो, लकडाउनकै कारण कोरोना संक्रमण रोकथाममा हामी सफल भयौं,’ मुख्यमन्त्री शाहीले भने, ‘फेरि संक्रमण बढ्दै गएकाले २० देखि २५ दिनसम्मका लागि लकडाउन गर्न संघीय सरकारलाई सुझाव दिएका छौं ।
उद्धारको लागि प्रत्येक वडामा टिम गठन गर्ने
कर्णाली प्रदेश सरकारले संभावित विपद्सँग जुध्न र उद्दार तथा राहतमा प्रभावकारिता ल्याउनको लागि प्रदेशभरी प्रत्येक वडामा उद्धारको लागि सुरक्षाकर्मीहरु सँग मिलेर टिम गठन गर्ने तयारी गरेको मुख्यमन्त्री महेन्द ्रबहादुर शाहीले बताए । उनका अनुसार सुर्खेतमा राहत सामाग्रिको स्टोर खडा गरेर कर्णालीमा कुनै पनि अभाव हुन नदिनेमा कर्णाली सरकार लागि रहेको छ ।
अहिले कर्णालीका प्रत्येक जिल्लामा दुई सय कुइन्टल खाद्यन्न तयारी अबस्थामा राखिएको भए पनि बाडि पहिरो गएको क्षेत्रका नागरिकहरुलाई ३ महिना सम्म सरकारले नै सबै खाद्यन्न उपलब्ध गराउने तयारी गरिहेको मुख्यमन्त्री शाहीले जानकारी दिए ।
कर्णालीमा पछिल्लो समय नसोचेको ठाउँमा पनि बाडि पहिरोले ठुलो जनधनको क्षति पु¥याएको भन्दै मुख्यमन्त्री शाहीले उद्धारको लागि कर्णाली सरकार तयारी अबस्थामा रहन दुई महिनाका लागि हेलिकोप्टर भाडामा लिने तयारी गरिरहेको बताए ।
‘बाढीपहिरो पीडितहरुको उद्दार र राहतमा समस्या देखिन थाल्यो,’ मुख्यमन्त्री शाहीले भने, ‘सहजताका लागि हेलिकोप्टर भाडामा ल्याएर सुर्खेतमा राख्ने योजना बनाएका छौं।’ हेलिकोप्टर भाडामा लिनका लागि नेपाली सेनासँग छलफल भइरहेको बताए ।
विद्यालय खुल्दैनन्
कर्णाली प्रदेश सरकारले तत्काल कर्णालीका विद्यालयहरु नखुल्ने बताएको छ । निजी विद्यालय सञ्चालकहरुले भदौ एक गतेदेखि भौतिक रुपमै पठन–पाठन सुरु गर्ने तयारी गरिरहेका बेला कर्णाली प्रदेश सरकारले तत्कालै विद्यालयहरु नखुल्ने बताएको हो । ‘अहिले पनि कर्णालीका छ सयबढी विद्यालयहरु क्वारेन्टिन र आइसोलेसनका रुपमा प्रयोग भएका छन्, स्थिति अझै सहज बनेको छैन,’ सामाजिक विकास मन्त्री दल रावलले भने, ‘अहिलेनै सरकारी तथा निजी कुनै पनि विद्यालयहरु खुल्दैनन् ।’