धनगढी, २० साउन/कोरोना भाइरस (कोभिड—१९) रोकथाम तथा नियन्त्रण गर्न दार्चुलाका स्थानीय तहहरुले १२ करोड बढी रकम खर्च गरेका छन् । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनदेखि असार मसान्तसम्म दार्चुलाका नौँ वटै स्थानीय तहले १२ करोड बढी रकम खर्च गरेका हुन ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्न राहत वितरण, क्वारेन्टिन व्यवस्थापन, औषधी खरीद, नागरिकहरुको उद्धार, प्रोत्साहन भत्ता र स्वयमसेवक परिचालन लगायत शिर्षकमा असारसम्म ११ करोड ८७ लाख ३४ हजार ९ सय १४ रुपैँया नगद खर्च गरेको र अधिकांश स्थानीय तहको भुक्तानी गर्न बाँकी तथा उधारो रकम सार्वजनिक नगरिएकोले कोरोना रोकथाममा हालसम्म गरिएको खर्च १५ करोड नाघ्ने अनुमान कोरोना सम्पर्क ब्यक्ति बिरेन्द्र प्रसाद भट्टले बताए ।
उनका अनुसार अहिलेसम्म सार्वजनिक तथ्याङक अनुसार सबैभन्दा बढी शैल्यशिखर नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाममा तीन करोड १७ लाख १९ हजार ४ सय ९६ रुपैँया, नौगाड गाउँपालिकाको एक करोड ५८ लाख, लेकम गाउँपालिकाले एक करोड ५२ लाख ७२ हजार चार सय रुपैँया खर्च गरेको बताए ।
यस्तै, मालिकार्जुन गाउँपालिकामा एक करोड २३ लाख ५३ हजार ४४४ रुपैँया, महाकाली नगरपालिकामा एक करोड २२ लाख ४७ हजार नौँ सय रुपैँया, दुँहु गाउँपालिकामा एक करोड १९ लाख, ५० हजार २९७ रुपैँया, मार्मा गाउँपालिकामा ७६ लाख ५८ हजार १२२ रुपैँया, व्यास गाउँपालिकामा ५१ लाख रुपैँया र अपि हिमाल गाउँपालिकामा ६६ लाख ३३ हजार २५५ रुपैँया खर्च भएको छ ।