म्याड्रिड : युरोपेली क्षेत्रको चर्चित घरेलु लिग ‘स्पेनिस ला लिगा’को यो सिजन समाप्त भएको छ। ला लिगाको अन्तिम चरणको खेल सोमबार बिहान खेलियो। अन्तिम चरणको खेलमा ला लिगा च्याम्पियन रियल म्याड्रिड तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लेगानेससँग २–२ गोलको बराबरीमा रोकियो।
रियल म्याड्रिडले अन्तिम चरणको खेलअघि नै ला लिगाको उपाधि जित्ने निश्चित भइसकेको थियो। अन्तिम चरणको खेलपछि ८७ अंकसहित रियल म्याड्रिड पहिलो, ८२ अंकसहित साविक विजेता बार्सिलोना दोस्रो, ७० अंकसहित एट्लेटिको म्याड्रिड तेस्रो र समान अंक जोडेको सेभिल चौथो भए। तालिकामा पहिलोदेखि चौथो स्थानसम्म आउने क्लब आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट भए। च्याम्पियन्स लिग युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो। ६० अंकसहित पाँचौं भएको भिल्लारियल आगामी सिजनको युरोपा लिगका लागि छनोट भयो।
० रियल म्याड्रिड च्याम्पियन
० साविक विजेता बार्सिलोना दोस्रो
० रियल म्याड्रिड, बार्सिलोना, एट्लेटिको म्याड्रिड र सेभिल च्याम्पियन्स लिगमा
० भिल्लारियल युरोपा लिगमा
० रियल सोसिएडाड युरोपा लिग छनोटमा
० लियोनल मेसीलाई ‘गोल्डेन बुट’
० मेसीको सर्वाधिक २५ र करिम बेन्जेमाको २१ गोल
युरोपा लिगा युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता हो। ५६ अंकसहित छैटौं भएको रियल सोसिएडाडले भने युरोपा लिगको छनोट चरण खेल्न पाउने भयो। सोमबार बिहान खेलिएको अन्तिम चरणको खेलमा रियल सोसिएडाडले एट्लेटिको म्याड्रिडलाई १–१ गोलको बराबरीमा रोक्यो।

यसैगरी ३६ अंक जोडेको लेगानेस, ३३ अंक बटुलेको मलोर्का र २५ अंक हात पारेको स्पान्योल रेलिगेसनमा परेर तल्लो डिभिजनमा घटुवा भए। बार्सिलोनाका स्टर अर्जेन्टिनी खेलाडी लियोनल मेसी यो सिजनको ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडी बने।
मेसीले ‘गोल्डेन बुट’ अवार्ड पाए। उनले समग्रमा सातौं र लगातार चौथो पटक ‘गोल्डेन बुट’ पाएका हुन्। यो सिजनको अन्तिम खेलमा पनि मेसीले डेपोर्टिभो आल्भेसविरुद्घ दुई गोल गरे। उक्त खेलमा बार्सिलोना ५–० गोलले विजयी भएको थियो। बार्सिलोनाका कप्तानसमेत रहेका मेसी जारी सिजनको ला लिगामा कुल २५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा रहे। सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका रियल म्याड्रिडका करिम बेन्जेमाले कुल २१ गोल गरे। १८ गोलसहित भिल्लारियलका जेरार्ड मोरेनो तेस्रो, १६ गोलसहित बार्सिलोनाका लुइस स्वारेज चौथो र १५ गोलसहित एथलेटिक बिल्बाओका राउल गार्सिया पाँचौं स्थानमा रहे।