पदम राज भट्ट
कैलाली , सुर्य नेपाल प्रा.लि ले सुदुरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री त्रिलोचन भट्टलाई रु एक करोड कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष मा जम्मा गरेको रकम हस्तान्तरण गरेका छन् । सूर्य नेपालका क्षेत्रीय प्रबन्धक दामोदर शर्मा, न्यू शिव ट्रेडर्सका धर्मानन्द मिश्र, रविन्द्र ट्रेडर्स महेन्द्रनगरका जगराज पाण्डे लगायतको टोलीले शनिबार मुख्यमन्त्री भट्टलाई सो रकम हस्तान्तरण गरेका हुन ।
सूर्य नेपाल प्रालिले सुदूरपश्चिम प्रदेश सरकारलाई एक करोड रकम सहयोग गरेको छ । कोभिड–१९ नियन्त्रण तथा उपचार कोष को लागि सूर्य नेपालले प्रदेश सरकारलाई सो सहयोग रकम हस्तान्तरण गरेको हो । कानूनमा त सूर्ति उत्पादक न डोनेसन लिन मिल्छ न त सूर्ति उद्योगले डोनेसन दिन मिल्छ तर शनिबार सुर्ति उद्योग बाट सहयोग बुझेका छन् ।
सूर्य नेपालले संस्थागत सामाजिक उत्तरदायित्वको नाममा सुदुरपश्चिम प्रदेश सरकारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष मा सहयोग गरेको बताएको छ । तर, सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ७ मा त्यसरी सहयोग लिन दिन नमिल्ने स्पष्ट व्यवस्था छ । सो उपदफामा लेखिएको छ, ‘संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने नाममा सूर्ति उद्योगहरुले प्रदान गर्ने कुनै पनि किसिमका शैक्षिक उत्थान, जातीय तथा बर्गीय उत्थान, आपतकालिन सेवामा सहयोग र सहकार्यको कसैले पनि स्वीकार गर्नु हुँदैन र उत्पादक लगायतले यस्तो सहयोग गर्न पाउने छैन् ।’
सोही परिच्छेदको दफा २० को उपदफा ६ मा ‘सार्वजनिक निकायका पदाधिकारीहरुले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने लगायतका कुनै पनि गतिविधि वा कार्यक्रममा सूर्ति उद्योगहरुको सहयोग, सहभागिता र सहकार्यलाई स्वीकार गर्नु हुँदैन् भनिएको छ ।’
सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी अन्तराष्ट्रिय महासन्धी फ्रेमवर्क कन्भेन्सन् अन टोबाको कन्ट्रोल (एफसिटीसी)मा हस्ताक्षर गरेको नेपालले यसको नियन्त्रणका बनाएको कानून पनि विश्वमै उत्कृष्ठ मानिन्छ । तर बनेको कानूनको कार्यान्वयन भने निकै फितलो देखिन्छ ।
सरकारी अधिकारीहरु सूर्ति उद्योगको प्रभावमा परी आफैले बनाएको कानूनको उल्लंघन् गर्दै आएका छन् ।
सूर्ति बजारको ९० प्रतिशत हिस्सा ओगेटेको सूर्य नेपालले २ जेठ २०७२ देखि लागू गर्नुपर्ने सूर्ति नियन्त्रण सम्वन्धी कतिपय कानूनी व्यवस्थाको ठाडो उल्लंघन् गर्दै आएको छ । तर सरकारी अधिकारीहरु उद्योगको प्रभावमा परी कारवाही गर्न सकेका छैनन् ।
सूर्य नेपाल त्यहि उद्योग हो जसले २०७२ सालको महाभूकम्पले देशका सबै संरचना अस्तव्यस्त भएकाबेला तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाका स्वकीय सचिव अतुल कोइरालालाई प्रभावमा पारी तत्कालिन मुख्यमन्त्रीलाई चिठी काटेर विद्यमान नियमलाई आफू अनुकुल बनाउने प्रयास गरेको थियो । यसपटक कोरोना महामारीका बेला प्रदेश सरकारका मूख्यमन्त्रीहरुलाई रकम सहयडोनेसन गरी त्यहि प्रयासमा लागेको देखिन्छ ।
विश्वमा प्रतिवर्ष ७० लाख भन्दा बढी मानिसहरुको मृत्यु सूर्तिजन्य पदार्थको प्रयोगको कारणले हुने गरेको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख छ । नेपालमा सूर्ति सेवनकै कारण हरेक वर्ष २७ हजार एक सय ३७ जनाकोे ज्यान गुमाउने गरेका छन् । आर्थिक र मानवीय क्षति कम गर्नका लागि सरकारले सूर्ति नियन्त्रण सम्वन्वी कानून बनाएको हो ।