काठमाडौं । कोरोना महामारीको कारण यतिबेला फिल्म क्षेत्रका अधिकांश काम स्थगित भएको छ । सरकारले सामान्य रुपमा अन्य उद्योगहरु खोल्ने अनुमति दिएपनि फिल्म उद्योग कहिले खुल्छ भन्ने विषयमा अहिलेसम्म केही निर्णय आएको छैन ।
यसैबीच निर्माता, निर्देशक तथा कलाकार रोज राणाले फिल्म ‘खलनायक–२’ निर्माणको तयारी सुरु गर्ने भएका छन् । कोरोना महामारी अगाडी साउनबाट सुटिङ गर्ने निर्णय गरेको निर्माण टिमले अब भदौबाट सुटिङ सुरु गर्ने भएको हो । फिल्म ‘खलनायक–२’लाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्ने छन् । द्वन्द्व निर्देशन एनबी महर्जनले गर्ने छन् ।
‘खलनायक २’को खलपात्रमा निर्माता रोज राणाले आफै अभिनय गर्दैछन् । ‘खलनायक’मा राजेश हमाल, विराज भट्ट र निखिल उप्रेती मुख्य भूमिकामा थिए । जुन २०६४ सालमा रिलिज भएको थियो । ‘खलनायक–२’ मा मुख्य भूमिकामा रहने कलाकारको टुङ्गो लागि नसकेको निर्माण टिमले बताएको छ ।