धनगढी २९ असार- लक डाउन अवधीमै भारतबाट घर फर्किएका कैलालीका काशिराम चौधरी भारु नचल्ने भएपछि समस्यामा परेका छन । मजदुरी गर्न भारत गएका उनी लकडाउन भएपछि कैलालीको गौरिफन्डा नाका हुँदै नेपाल आएका थिए ।
सिमा क्षेत्रमा भारु सटही गर्न नपाएपछि भारतीय ५ सय देखि २ हजार सम्मका नोटको गड्डी ल्याएर घर पुगेका थिए । अहिले स्थानीय बजारमा व्यापारीहरुले भारु नोटको कारोबार गर्न मानेका छैनन, उनले पीडा पोख्दै भने–‘घर व्यवहार चलाउन पनि गाह्रो भएको छ, कतै डुबिने पो हो की, भारतबाट तीन महिनाअघि घर फर्किएका डोटीका कर्ण भट्टपनि भारु नोट नचल्दा आर्थिक कारोबारबाटनै बन्चीत भएका छन् । बर्षभरी भारतमा काम मजदुरी गरेर ल्याएको डेढ लाख बढी भारु सटही गर्न नपाएपछि घरमै थन्काएर राख्नु परेको भट्टले दुखेसो पोखे । उनले भने–‘व्यापारीहरुले भारु ५ सय भन्दा बढीका नोटको कारोबार गर्न मानेका छैनन्, कतै पहिलेको जस्तै गरी भारत सरकार मुद्रानै परिर्वतन गरे ठुलो मारमा परिन्छ ।’
भारुको कारोबार रोकिँदा पीडित भएका यी दुई प्रतिनिधि पात्र मात्र हुन । यो घटनाका कारण भारतमा मजदुरी गरेर लकडाउनको समयमा घर फर्किएका थुप्रै नेपालीहरु मारमा परेका छन् । चार बर्ष अगाडी भारत सरकारले आफनोे चलनचल्तीमा रहेका ५ सय र १ हजारका नोटहरु हटाउने निर्णयले ठुलो घाटा खेपेको डरले अहिले व्यापारीहरुले भारु नोटको कारोबार गर्न मानेका छैनन् । यही कारण भारतीय नोटको कारोबार गर्न जोखीम रहेको व्यपारीहरुको भनाई छ ।
लकडाउनको समयमा भारतबाट सुदूरपश्चिम प्रदेशमा मात्रै दुई लाख बढी मानिसहरु नेपाल फर्किएका छन् । उक्त तथ्याङ हेर्दा सुदूरपश्चिम प्रदेशमा ठुलो परिमाणमा भारतीय रुपयाँ भित्रिएको छ । सुदूर पहाडका जिल्लाहरुमा भारतबाट मजदूरी गरेर फर्किएका मानिसले सीमा क्षेत्रमा सटही गर्ने ठाउँ नभएपछि ठुलो परिमाणमा भारु नोट ल्याएका छन् । यहाँका चोक, चिया पसल, सार्वजनिक स्थलमा सर्वसाधारण र व्यापारीबीच भारु नोट सटही हुने र नहुनेबारे चर्चा गरिएको सुनिन्छ ।
यता नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक निश्चल अधिकारीले भारतीय १ सयका भन्दा माथीका नोटको कारोबार नेपालमा गैरकानुनी भएको बताए । उनले भारतीय १ सयका नोटहरु नेपाल राष्ट्र बैंकले सहजै रुपममा सटही गरिरहेको जानकारी दिए । निर्देशक अधिकारीले भारतले चलन चल्तीबाट यी नोटहरु हटाएको खण्डमा ठुलो जोखीम हुने बताए । भारतमा काम गर्ने नेपालीहरुले १ सयका नोटमात्र ल्याउने वा रेमीट्यान्स मार्फत नेपाल पठाएर जोखीम कम गर्न सकिने बताए । उनले यसरी सरकारले प्रतिबन्ध लगाएको मुद्राहरु गैरकानुनी रुपमा भि¥याउँदा आर्थिक क्षेत्रमा असर पर्ने बताए ।