एजेन्सी । स्पेनिस लिगको साविक विजेता बार्सिलोनामा पछिल्लो चरणमा लगातार प्रशिक्षक परिवर्तन भइरहेका छन् । प्रशिक्षक परिवर्तनको गति छिटो हुंदा नयाँ प्रशिक्षकमा पूर्व कप्तान लेजेण्डरी मिडफिल्डर स्पेनिस जाभी हर्नान्डेजको पनि चर्चा हुने गरेको छ । यसै सन्दर्भमा बार्साका बोर्ड अध्यक्ष जोसेप मारियो बार्टोमेउले जाभी हर्नान्डेज ढिलोचाँडो बार्सिलोनाका प्रशिक्षक हुने टिप्पणी गरेका छन् ।
बार्टोमेउले हाललाई भने क्लबको प्रशिक्षकमा किके सेटिन नै रहने बताए। सेटिनलाई आगामी सिजनका लागि पनि क्लबमा राख्ने उनले संकेत दिए। कोरोना भाइरसअघि अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोना अहिले दोस्रो स्थानमा झरेपछि सेटिनको प्रशिक्षणको आलोचना भइरहेको छ। सेटिन मात्र हैन अध्यक्ष बोर्टोमेउले समेत खेलाडी किनबेचमा लिएको निर्णयका विरुद्ध उनको राजिनामाको माग पनि भइरहेको छ । बार्सिलोनाले सिजनको अन्त्यतिर लय गुमाउदा रियल म्याड्रिड लिगको उपाधि नजिक छ।
विगत केही वर्षयता रियलले लिग गुमाउदा बार्साले कब्जा जमाउदै आएको थियो । जाभी सन् २०१९ मा बार्सिलोनाबाट बिदा भएपछि कतारको अल साद स्पोर्ट्स क्लबको प्रशिक्षकका रुपमा सक्रिय छन्। यस अघि सेटिन भित्र्याउने बेला समेत जाभीको चर्चा भएको थियो । अध्यक्ष बार्टोमेउले जाभी बार्सिलोनाको भावी प्रशिक्षक भएको बताएका हुन्।
तर उनले अहिलेका प्रशिक्षक सेटिन आगामी सिजनसम्म बार्सिलोनामा बस्ने बताए। बार्टोमेउ र सेटिनबीच आगामी सिजनको योजनाको विषयमा छलफल समेत भएको बताइएको छ। ुजाभी ढिलोचाँडो बार्सिलोनाको प्रशिक्षक हुन्छन्। तर अहिले हामी प्रशिक्षक खोजिरहेका छैनौ, गोल डटकमले लेखेको छ, हामीले सेटिनकै घरमा गएर कुरा गरिसकेका छौं। आगामी सिजनका लागि योजना बनाएका छौं। उनी सम्भवत प्रशिक्षक रहिरहन्छन्। मलाई उनको योजना राम्रो लागेको छ।