दक्षिण कोरियाको राजधानी सिओलका मेयरको शव प्रहरीले फेला पारेको छ । बिहीबार बेपत्ता भएका मेयर पार्क वन-सूनको शव प्रहरीले फेला पारेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पार्कले घर छोड्नुअघि एक सन्देश दिएर गएको उनकी छोरीले प्रहरीलाई जानकारी गराएको बताइएको छ । यसले शंका बढाएको थियो । पार्कको शव प्रहरीले सिओलको उत्तरी क्षेत्रमा रहेको माउन्ट बुगाकमा फेला पारेको हो ।
उनको फोनको सिंग्नल अन्तिमपटक सोही क्षेत्र नजिक डिटेक्ट भएको थियो । उनको मृत्युको कारण अहिलेसम्म खुलाइएको छैन । उनी बेपत्ता हुनु भन्दा केही घण्टा पूर्व महिला कर्मचारीले यौन हिंसाको आरोपमा पार्कविरुद्ध उजुरी दिएको खुलेको छ ।
पार्कले बिहीबारका सबै कार्यक्रम रद्द गरेका थिए । उनी सन् २०११ देखि सिओलको मेयर थिए।
उनी गएको जुनमा तेस्रो तथा अन्तिम कार्यकालका लागि निर्वाचित भएका थिए । राष्ट्रपति मून जे इनको पार्टीका सदस्य पार्कलाई सन् २०२२ को राष्ट्रपति चुनावका सम्भावित उम्मेदवारका रुपमा हेरिएको थियो ।
