एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको कानपुरमा ८ प्रहरी अधिकारी हत्याका अभियुक्त विकास दुवेलाई अन्नतः मध्य प्रदेशको उज्जेनबाट गिरफ्तार गरिएको छ । कानपुरमा भएको गोलीकाण्डको सात दिनपछि विकास दुवेलाई गिरफ्तार गर्न प्रहरी सफल भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार, बिहिबार बिहान महाकालेश्वर मन्दिर पुगेर विकास दुवेले २५० रुपैयाँको भिआईपी पर्ची कटाएका थिए । पर्चीमा नाम विका दुवे नै लेखिएको थियो । विकाससँग एउटा झोला थियो । उनी मन्दिरको अगाडी एक पसलमा प्रसाद किन्न पनि गए । विकास आफ्नो झोला कतै राख्न चाहान्थे ।
एक व्यक्तिसँग उनले झोला राख्नेका लागि ठाउँ पनि सोधे । त्यसपछि विकास दर्शन गर्नका लागि मन्दिरभित्र गए । यसबीच सुरक्षा गार्डलाई शंका भइसकेको थियो र प्रहरीलाई पनि खबर गरिइसकिएको थियो । विकास मन्दिरबाट बाहिर निक्लदा प्रहरी आइसकेको थियो र उनलाई गिरफ्तार गरियो । विकाससँगै उनका दुई सहयोगी बिट्टु र सुरेशलाई पनि गिरफ्तार गरिएको छ, तर अहिलेसम्म उनीहरुको बारेमा धेरै जानकारी दिइएको छैन ।
उज्जेनमा आएर महाकाल मन्दिरमा जानुको कारण विकास प्रहरी मुठभेडबाट बच्न चाहेको एक प्रहरी अधिकारीको दाबी छ । उनी त्यस दिन बिहानभर मन्दिर परिसरमा लामो समयसम्म घुमिरहेको पनि बताइन्छ । प्रहरीले गिरफ्तार गरेपछि उनी ‘कानपुरको विकास दुवे मै हुँ’ भन्दै चिच्याइरहेका थिए । उनलाई महाकाल प्रहरी चौकी पर्याइएपछि उनी सञ्चारमाध्यमसँग कुरा गर्ने प्रयास गरेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीले विकास दुवेलाई लामो समयसम्म सोधखोज गरेको छ । जुन ग्याङस्टरलाई पक्रन पछिल्लो एक सातादेखि थुप्रै राज्यका प्रहरी लागिरहेको थियो, ऊ यति सजिलै कसरी आफूलाई गिरफ्तार गराउन सक्छ रु भन्ने आशंका उब्जिएकाले पक्राउ परेका व्यक्ति विकास दुवे नै हुन् भनेर प्रहरी आश्वास्त हुन थाहान्थ्यो । मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले विकास दुवे पक्राउ परिसकेको जानकारी दिएका छन् । यद्यपि, उनी कसरी पक्राउ परे भन्नेबारेमा अहिले नै सार्वजनिक गर्नु सही नभएको बताएका छन् ।
विकास दुवेलाई उज्जेन प्रहरीले कुनै अज्ञान स्थानमा लगेको प्रहरी सुत्रबाट जानकारी पाइएको बिबिसी हिन्दीले जनाएको छ । विकासलाई उत्तर प्रदेश प्रहरीलाई सुम्पिने कुरा भइरहेको बताइएको छ । विकास दुवेमाथि २ जुलाईमा कानुपरको बिकरु गाउँमा गिरफ्तार गर्न पुगेका प्रहरी टोलीमाथि आक्रमण गरेका थिए । प्रहरी टोलीमाथि गरिएको अन्धाधुन्ध गोली प्रहारमा ८ अधिकारीको मृत्यु भयो । त्यसपछि विकास दुवेको टाउँको मूल्य तोक्ने क्रम जारी थियो र यो बढेर पाँच लाख पुगेको थियो ।
विकास दुवेको गिरफ्तारीसँग मध्यप्रदेशमा राजनीति पनि गर्माएको छ । एकतिर मध्यप्रदेश यसलाई आफ्नो सफलता बताइरहेको छ भने त्यही कांग्रेसले सरकारलाई घेर्दै यसलाई सरकारको असफलता बताइरहेका छन् । विकास दुवे विरुद्ध आपराधिक मुद्दा पहिलो पटक सन् १९९० मा दर्ता गरिएको थियो । हालसम्म उनी विरुद्ध ६० वटाभन्दा बढी आपराधिक मुद्दा पुगिसकेका छन् ।