गोविन्द बीसी
बौनिया १३ असार- अनियन्त्रित रूपमा भइरहेको नदी उत्खननले नदी कटानको जोखिम बढेको छ । आर्थिक वर्षको अन्त्यतिर योजनाको निर्माण सम्झौता भइ धमाधम काम हुन थालेपछि दिनहुँजसो ट्याक्टर र टिप्परमा अहिले ढुंगा, बालुवा निकासी भइरहेका छन् ।
कैलालीको बर्दगोरिया गाउँपालिकाले असार २१ गतेसम्म नदीजन्य पदार्थ निकासी गर्न अनुमति दिने निर्णय गरेपछि अहिले विभिन्न योजनाका लागि नदीजन्य पदार्थ उत्खनन र निकासी भएको हो । असार महिना सुरु भएसंगै किसानलाई रोपाइँको चटारो छ भने, निर्माण व्यवसायी, ठेकदार र उपभोक्ता समितिलाई योजनाको काम सम्पन्न गर्न भ्याइनभ्याई छ । मापदण्डविपरीत बाटो छेउमा नै बालुवा उत्खनन गर्दै आएपनि सम्बन्धित निकाय मौन छन् ।
गाउँपालिकामा कतिपय योजना लकडाउन सुरु हुनु अगावै उपभोक्ता समिति गठन भएपनि सम्झौता नभएका कारण काम अलपत्र परेका थिए । प्रायःजसो विद्यालय र सामुदायिक भवनमा क्वारेन्टाइन निर्माण भएपछि रोकिएको काम अहिले सुरु भइरहेका छन् । गाउँपालिकाको वडा नम्बर–३ र बौनिया बजार जोड्ने सेतीलोकमार्ग अन्तर्गत कुहिरा नदीमा शनिबार ट्याक्टरमा बालुवा उत्खनन भइरहेको दृश्य प्रायःजसो आवतजावत गर्ने सबैले देखिरहेका थिए ।
तर, जथाभावी रूपमा बाटो नजिकै ट्याक्टरमा बालुवा उत्खनन गरिरहेको देखेपनि कसैले उनीहरूलाई रोक्न भनेनन् । त्यही बाटो भएर जनप्रतिनिधिको समेत आवतजावत थियो तर, मौन देखिए । यसअघि पनि सोही बाटो नजिकै बालुवा उत्खनन भएको हो । वर्षायाम सुरु हुन बित्तिकै वडामा रहेका नागरिकलाई एकातिर पुल नहुँदा जोखिम मोलेर नदीको भेलमा आवातजावत गर्नुपर्ने बाध्यता छ भने, अर्कोतिर बाढीका कारण किसानको खेतीयोग्य जमिन कटान भइ बगर परिणत भएको छ ।