अत्तरिया,२ मंसिर ÷ कैलालीको अत्तरियामा स्वास्थ्य युवा महोत्सव २०८३ सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार महोत्सवको उद्घाटन गरेका हुन्।
गोदावरी चेम्बर अफ कमर्स, कैलाली चेम्बर अफ कमर्स र सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्सको संयुक्त सहकार्यमा तेघरीमा रहेको पार्टनर प्यालेसमा महोत्सव सञ्चालन भइरहेको छ ।
महोत्सवको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य रमेश प्रसाई, सुदूरपश्चिम प्रदेशसभा सदस्य खेमादेवी विष्ट, गोदावरी नगरप्रवक्ता गोपाल दत्त भट्ट लगायतको उपस्थिति रहेको थियो।
महोत्सवमा अनुभवी तथा विशेषज्ञ चिकित्सकहरूबाट सर्वसाधारणको स्वास्थ्य परीक्षण भइरहेको छ । महोत्सवमा पाठेघरको क्यान्सरको परिक्षण, आँखा चेकजाँच, दाँत जाँचलगायत विभिन्न स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ।
त्यसबाहेक महोत्सव अवधिभर मनोपरामर्श पनि दिइने नेपाल चेम्बर अफ कमर्स सुदुरपस्चिम प्रदेश अध्यक्ष बिनोद मल्लले बताए । आर्थिक अवस्था कमजोर भएका तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी आयोजना गरिएको महोत्सव मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ।
आयोजकका अनुसार महोत्सवले नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै समयमै स्वास्थ्य परीक्षण गराउने बानीको विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।