धनगढी,२ मंसिर / कात्तिक शुक्लपक्ष सुरु भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत जाँत मेलाको रौनक बढेको छ। बैतडी, डडेलधुरा, दार्चुलादेखि बाजुरासम्मका शक्तिपीठ र मन्दिरमा लाग्ने जात्राले गाउँबस्ती उत्सवमय बनेका छन्।
जाँतमा सहभागी हुन भारतको उत्तराखण्ड, पिथौरागढ, चम्पावत र झुलाघाटबाट समेत हजारौँ दर्शनार्थी नेपाल आइपुग्न थालेका छन्। बैतडीको त्रिपुरासुन्दरी मेलामा भारतीय भक्तजनको आगमन बढेपछि गोठालापानीका होटल अग्रिम बुक हुन थालेका छन्। यसले स्थानीय पर्यटन तथा व्यापार व्यवसायमा उत्साह थपेको छ।
रोजगारीका लागि भारत तथा तेस्रो मुलुक पुगेका र तराई झरेका सुदूरपश्चिमेलीसमेत कुलदेवताको पूजाआजा गर्न पुर्ख्यौली गाउँ फर्किन थालेका छन्। यसले गाउँघरमा चहलपहल बढाएको छ।
बैतडीको शिवनाथधाम, त्रिपुरासुन्दरी, कैलपाल, मेलौली भगवती र निगलासैनी मन्दिरमा लाग्ने जात्रा प्रमुख आकर्षण हुन्। यस्तै, डडेलधुराको उग्रतारा भगवतीको देहीजाँत र बडालको परम्परागत चौलो नाचले पनि हजारौँलाई आकर्षित गर्ने गरेको छ। दार्चुलाको मालिकार्जुन र अछामको केदारनाथ मेलामा समेत भक्तजनको घुइँचो लाग्ने गर्छ।
जाँतमा दमाहा, झ्याली र भोक्करको गुञ्जनसँगै रातभर खेलिने देउडा तथा वीरताको प्रतीक चौलो नाचले सुदूरपश्चिमको मौलिक संस्कृति र परम्परालाई जीवन्त राखेको छ।
धार्मिक आस्थासँग जोडिएका यी मेलाले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध बलियो बनाउनुका साथै स्थानीय कृषि उपज, हस्तकला, होटल तथा ग्रामीण व्यापार व्यवसायलाई समेत टेवा पुर्याउँदै आएका छन्।