काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली शुक्रबार पाकिस्तानको लाहोरलाई उछिन्दै विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । स्विस संस्था ‘आईक्यूएयर’ का अनुसार दिल्लीको वायु गुणस्तर सूचकांक (एक्यूआई) ३३४ पुगेको छ, जुन ‘अत्यन्त अस्वस्थ’ श्रेणीमा पर्छ ।
यता, भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड ९सीपीसीबी० ले दिल्लीको एक्यूआई ४०३ मापन गरेको छ, जसलाई ‘गम्भीर’ श्रेणीमा राखिएको छ । वायु गुणस्तर मापन गर्ने फरक प्रणाली र मापदण्डका कारण यी दुई संस्थाले सार्वजनिक गरेका तथ्यांकमा अन्तर देखिएको हो ।
दिल्ली बाक्लो विषाक्त धुवाँ र तुवाँलो (स्मोग) ले ढाकिएको छ । सडकमा गुड्ने कार तथा मोटरसाइकल बाक्लो तुवाँलोबीच गुडिरहेका देखिन्छन् भने मुख्य सडकका ुस्ट्रिट लाइटुको उज्यालोसमेत धुवाँका कारण मधुरो बनेको छ ।
प्रदूषणको यो स्तरले जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने बताइएको छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा छन् । भारत र पाकिस्तानका विभिन्न क्षेत्रमा जाडोयाममा वायु प्रदूषणको समस्या हरेक वर्ष गम्भीर बन्ने गर्छ । प्रदूषक तत्त्वको मात्रा बढ्दै जाँदा वायुको गुणस्तर तीव्र रूपमा खस्किन्छ र मानिसहरूलाई श्वासप्रश्वासमा कठिनाइ हुन सक्छ ।