धनगढी, २ मंसिर/सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक स्थल बडीकेदार धाममा आगामी बैकुण्ठ चतुर्दशीको अवसरमा हुने बृहत् धार्मिक मेलाका लागि नेपाल टेलिकमलाई अस्थायी मोबाइल टावर जडान र नेटवर्क व्यवस्थापन गर्न आग्रह गरिएको छ।
बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति, डोटीका अध्यक्ष उपेन्द्र बम सहितको टोलीले नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय, अत्तरियाका प्रमुख बृजेस शर्मालाई अनुरोध पत्र बुझाउँदै उक्त माग गरेका हुन् ।
आगामी २०८३ साल मंसिर ५, ६ र ७ गते बडीकेदार गाउँपालिका-५ मा अवस्थित बडीकेदार धाममा बैकुण्ठ चतुर्दशीको पावन अवसरमा बृहत् धार्मिक मेला तथा वार्षिक पूजा आयोजना हुँदैछ। समितिले जनाएअनुसार मेलामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला, विशेष गरी कैलाली र कञ्चनपुरसहित तराई क्षेत्र, पहाडी जिल्लाहरू तथा छिमेकी मुलुक भारतका सीमावर्ती क्षेत्रबाट हजारौं श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।अत्यधिक भीडभाडका कारण विद्यमान मोबाइल नेटवर्कमा चाप बढ्ने र सञ्चार सेवा अवरुद्ध हुने सम्भावना रहेको समितिले उल्लेख गरेको छ।
मेलामा सहभागी भक्तजन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र आयोजकहरूलाई सहज सञ्चार सुविधा उपलब्ध गराउन तथा आपत्कालीन अवस्थामा सूचना आदानप्रदानलाई प्रभावकारी बनाउन पर्याप्त मोबाइल नेटवर्क आवश्यक रहेको समितिका अध्यक्ष उपेन्द्र बमले बताएका छन्। समितिले नेपाल टेलिकमलाई धार्मिक मेलाको अवधिभर बडीकेदार धाम तथा आसपासका क्षेत्रमा आवश्यक प्राविधिक अध्ययन गरी अस्थायी मोबाइल टावर जडान, नेटवर्क क्षमता विस्तार र आवश्यक नेटवर्क उपकरणको व्यवस्था गरिदिन आग्रह गरेको छ।
यसले हजारौं भक्तजनलाई सहज सञ्चार सेवा उपलब्ध गराउनुका साथै धार्मिक पर्यटन प्रवद्र्धन, सुरक्षा व्यवस्थापन र आपत्कालीन उद्धार कार्यमा समेत सहयोग पुग्ने समितिले विश्वास व्यक्त गरेको छ। नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय, अत्तरियाका प्रमुख बृजेस शर्माले उक्त क्षेत्रमा अस्थायी रूपमा क्षमता विस्तार तथा सुधारका लागि तत्काल काम सुरु गर्ने बताएका छन्।