धनगढी, १ मंसिर/डोटीको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थल बडिकेदार धाममा लाग्ने मेलामा सहभागी हुन चाहने धनगढीवासीका लागि धनगढी उपमहानगरपालिकाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
उपमहानगरपालिकाले मेलामा श्रद्धालु तथा नगरवासीको सहज सहभागिताका लागि पाँचवटा बसको व्यवस्था गरेको हो । बस मंसिर ६ गते बिहान ११ बजे धनगढीबाट बडिकेदारका लागि प्रस्थान गर्नेछ भने मंसिर ७ गते साँझ ४ बजे बडिकेदारबाट धनगढी फर्किने कार्यक्रम तालिका रहेको छ ।
धार्मिक आस्था, मौलिक संस्कृति तथा स्थानीय परम्पराको संरक्षण र प्रवद्र्धनसँगै बडिकेदार मेलामा नगरवासीको सहज सहभागिता सुनिश्चित गर्ने उद्देश्यले निःशुल्क यातायातको व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ ।