धनगढी, २ मंसिर/सुन्दर सुदूरपश्चिम यातायातले आफूले सञ्चालन गर्ने लामो दूरीका दिवा तथा रात्री सेवाका बसहरूमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यबस्था गरेको छ ।
‘कुनै पनि लामो दूरीका बसहरू एउटै दिन यात्रा वा रिजर्वका लागि दुई चालक विना सञ्चालन गर्न पाइने छैन’ यातायातले भनेको छ–‘कुनै कारणवश जानुपर्ने भए दुवै चालक स्वयं उपस्थित हुनुपर्नेछ र दुवै चालकको चालक अनुमतिपत्रको फोटोकपी सम्बन्धित बुकिङ काउन्टरमा बुझाउनुपर्नेछ ।’
यातायात समितिको नियम पालना नगरेमा कम्पनीले सञ्चालन गर्ने कुनै पनि बसको ट्रिप शुल्क वा रिजर्व शुल्क नकाटिने बताएको छ । बिना ट्रिप शुल्क आफूखुसी गएको अवस्थामा कुनै घटना घटेमा त्यसको जिम्मेवारी समितिले नलिई कम्पनीको नियमानुसार कारबाही गरिने सुन्दर सुदूरपश्चिम यातायातका कार्यालय प्रमुख देवीलाल जोशीको जानकारी दिएका छन् ।