काठमाडौं २७ कार्तिक/काठमाण्डौ गोर्खाजलाई सात रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा प्लेअफ प्रवेश गरेको छ । यो जितसँगै सुदूरपश्चिमले लिग चरणमा १० अंक जोड्यो । दोस्रो टोलीको रूपमा प्लेअफ प्रवेश गरेको सुदूरपश्चिमले कुल सात खेलमा पाँच जित र दुई हार व्यहोर्यो । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले प्रस्तुत गरेको १२६ रनको लक्ष्य पछ्याएको काठमाण्डौले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो ।
काठमाण्डौलाई सस्तैमा रोक्न अनिल खरेलले दुई विकेट लिए । स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन अलेनले समान एक विकेट लिए । काठमाण्डौका निम्ति अविजित रहेका राशिद खानले सर्वाधिक ३५ रन बनाए । राशिदले ३१ बलमा पाँच चौका प्रहार गरे । दुसन हेमन्थाले २१ रन बनाए । यी दुईको जोडीले ३४ रनको साझेदारी गर्दै मध्यक्रममा टिमलाई उकास्ने प्रयास गरेका थिए ।
साम हेजलिटले ११ र सन्तोष यादवले १० रनको योगदान गरे । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । काठमाण्डौले भीम शार्की, मोहम्मद आदिल आलम, सेहन अराचिगे र कप्तान करण केसी जस्ता खेलाडी सस्तैमा गुमायो । करण र मोहम्मदले समान आठ रन मात्र जोडे । भीम र सेहन ‘डक’ आउट भए । जाहानडाडले पाँच रन बनाए । त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले काठमाण्डौविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रनको योगफल खडा गरेको थियो ।
सुदूरपश्चिमका निम्ति कप्तान दीपेन्द्रसिंह ऐरीले ६० रनको अर्धशतकीय पारी खेले । उनले सुदूरपश्चिमको इनिङ उकास्ने प्रयास गरेका थिए । दीपेन्द्रले ५५ बलमा पाँच चौका र दुई छकका प्रहार गरे । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो । उनले यसअघि पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । पहिलो सिजनदेखि कप्तानी सम्हाल्दै आएको उनको एनपीएलको समग्रमा यो तेस्रो अर्धशतक हो ।
उनले छैटौँ विकेटको निम्ति थरिन्दु रत्नायकेसँग ६३ रनको अर्धशतकीय साझेदारी गरेका थिए । तर, १८।६ ओभरमा जाहानडाडविरुद्ध चौकाको प्रयास गर्दा उनी भीमबाट क्याच हुनपुगे । अविजित रहेका थरिन्दुले २६ रन बनाए । आरिफ शेखले १६ रन बनाए । आरिफले पाँचौँ विकेटको निम्ति दीपेन्द्रसँग ५४ रनको अर्धशतकीय साझेदारी गर्दै पावर प्लेमा धराशायी बनेको सुदूरपश्चिमलाई उकास्ने प्रयास गरेका थिए । तर, १२।५ ओभरमा आरिफ रनआउट भएपछि साझेदारी तोडिएको थियो ।
यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । टोलीले पावर प्लेमा प्रमुख ब्याटरहरूलाई सस्तैमा गुमाएको थियो । ओपनिङमा आएका स्कटले ६ रन बनाएर पभेलियन फर्किए । त्यसैगरी, ओपनर विनोद भण्डारीले एक रन बनाए भने ब्रान्डन म्याकमुलेन र इशान पाण्डेले रन जोड्न सकेनन् । काठमाण्डौका लागि जाहानडाडले तीन विकेट लिए भने सन्तोषले दुई विकेट लिए । हारसँगै काठमाण्डौ प्लेअफका लागि अझै कुर्नुपर्ने भएको छ । टोलीले हारसँगै ६ खेलबाट आठ अंक बनाएको छ ।