धनगढी : सुदूरपश्चिम भारतबाट हजाराँै नागरिक भित्रिएपनि कोरोना परीक्षणका लागि आवश्यक पर्ने किटको मौज्दात सकिएको छ। प्रदेशमा अहिले तीन सय ९० वटा किट मात्र मौज्दात रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ।
प्रयोगशालाकी प्रमुख अस्मिता सापकोटाले कोरोनाका सम्भावित बिरामीको थ्रोट स्वाबको नमूना संकलनका लागि चाहिने भीटीएम ७१ वटा र तीन सय १९ वटा र्यापिड किट मात्रै मौज्दात रहेको बताईन्। किट अभावकै कारण प्रदेशमा भारतबाट दैनिकजसो हजारौँको संख्यामा फर्किरहेकाहरुको परीक्षण गर्न नसकिएको सामाजिक विकास मन्त्रालयले बताउँदै आएको छ।
मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले मौज्दात किटले भारतबाट फर्किने सबैको परीक्षण सम्भव नभएकाले थप व्यवस्थापनका लागि संघिय सरकारसँग अनुरोध गरिएको बताए। उनका अनुसार प्रदेश सरकारकै बजेटमा किट खरिद गर्ने प्रक्रिया समेत थालिएको छ। प्रदेश स्वास्थ्य आपूर्ती केन्द्रले कोरोना परीक्षणका लागि चाहिने किट तथा अन्य स्वास्थ्य समाग्री खरिदको प्रक्रिया सुरु गरेको छ।
सुदूरपश्चिममा कैलालीको गौरीफन्टा नाका भएर पछिल्लो ९ दिनको अवधीमा मात्र १२ हजार बढि भारतबाट फर्किएका छन्। उनीहरु मध्ये जेठ ८ गते र्यापिड टेस्ट गर्दा एन्टीबडी देखाएका पाँच जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भईसकेको छ।
संक्रमित सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। तर हजारौँलाई परीक्षण बिना नै सम्बन्धीत स्थानीय तहको जिम्मा लगाईएपछि जोखिम बढ्दै गएको भन्दै चिन्ताहरु व्यक्त भईरहेका छन्।
अझै सुदूरपश्चिममा भारतबाट फर्किने क्रम जारी रहेको छ। स्थानीय प्रशासनले कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकाबाट उनीहरुको उद्दारको काम जारी राखेका छन्।