बाजुरा,२७ असोज / बाजुराको बडीमालिका नगरपालिकामा कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन सुरु गरिएको छ । लामो समयको अथक प्रयासपछि नगरपालिकाको अगुवाइमा परीक्षण उत्पादन सुरु गरिएको हो ।
स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय स्रोतसाधनको उपयोग गर्ने उद्देश्यले सुरु गरिएको यस उद्योगले गाउँमै आत्मनिर्भरता र रोजगारीका अवसर सिर्जना गरी नगर निर्माणको अभियानमा इँटा थप्ने विश्वास लिइएको छ ।
नगरप्रमुख अमरबहादुर खड्काले लामो प्रयास र प्रयत्नको सार्थक परिणामस्वरुप कोदोको बिस्कुट उद्योग सञ्चालनमा ल्याइएको बताए । पालिकाको पहलमा स्थानीय उत्पादनको प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने उद्देश्यले कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन सफलतापूर्वक सुरु भएको उनले जानकारी दिए ।
परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदोलाई बिस्कुटमा रूपान्तरण गरी बजारसम्म पुर्याउने योजनाले स्थानीय किसान, उद्यमी र रोजगारीको खोजीमा रहेका नागरिकका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । साथै, स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै रोजगारी सिर्जना गर्ने र बाह्य उत्पादनमाथिको निर्भरता घटाउने विश्वास लिइएको छ ।
उद्योगको परीक्षण उत्पादनपछि गुणस्तर, बजारको माग र व्यावसायिक सम्भावनालाई ध्यान दिँदै उत्पादनलाई थप व्यवस्थित बनाउन सके कोदोले उचित बजार पाउने देखिएको छ ।