धनगढी, २२ असोज / नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले गगन थापा सिंगो नेपाली कांग्रेसको सभापति बन्न नसक्नु दुर्भाग्य भएको बताएका छन्।
बिहीबार लम्कीचुहा नगरपालिकाको नगर अधिवेशनलाई सम्बोधन गर्दै शाहले कांग्रेसको संवैधानिक तथा वैधानिक अवधि बाँकी रहँदारहँदै पनि सबैलाई समेटेर एकताको महाधिवेशन गर्ने वातावरण निर्माण गर्न विशेष महाधिवेशन पक्षधरले पहल नगरेको आरोप लगाए।
उनले प्रभाव पार्ने उद्देश्यले महाधिवेशन गर्न आतुर हुनुभन्दा पार्टीभित्रका सबै नेता–कार्यकर्तालाई एकताबद्ध बनाएर अघि बढ्ने वातावरण निर्माण गर्नुपर्ने बताए। कांग्रेसका नेता–कार्यकर्तालाई भावनात्मक रूपमा समेत समेटेर एकताको महाधिवेशन गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफू अब पार्टी नेतृत्वमा नरहने घोषणा गरिसकेको र पार्टी विधानले सभापतिको दुई कार्यकालको व्यवस्था गरेको उल्लेख गर्दै शाहले सबैलाई समेट्न सकेको भए नियमित महाधिवेशनबाट गगन थापा पार्टी सभापति बन्नसक्ने विश्वास व्यक्त गरे।
उनले कांग्रेस कमजोर हुँदा मुलुक र संविधानसमेत कमजोर हुने भएकाले नेपाली कांग्रेस एकजुट हुनुको विकल्प नरहेको बताए। पार्टीभित्रको एकता, सहकार्य र भावनात्मक सम्बन्धलाई बलियो बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
नगर संयोजक कृष्णप्रसाद धमलाको सभापतित्वमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनबाट प्रयागराज खनालको नेतृत्वमा २७ सदस्यीय नगर कार्यसमिति चयन भएको छ।