धनगढी, १९ असोज / कैलालीको त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएको भनिएको करिब डेढ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान धनगढीमा बरामद भएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा र नियमित गस्ती हुँदाहुँदै सामान धनगढीसम्म पुगेपछि सीमा सुरक्षामाथि प्रश्न उठेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले आइतबार बिहान करिब ३ बजे धनगढीस्थित फनपार्क नजिकबाट बेवारिसे अवस्थामा सुर्तीजन्य पदार्थ र सुटपिस कपडालगायतका सामान बरामद गरेको हो ।
सीमा सुरक्षाका लागि त्रिनगर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर तथा नजिकै नल्काघाट क्षेत्रमा बीओपीसमेत परिचालित छन् । यस्तो सुरक्षा व्यवस्थाबीच भारतबाट ल्याइएको भनिएको सामान सीमा पार गरी धनगढीको फनपार्कसम्म पुग्नुले सीमा निगरानीको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।
स्रोतका अनुसार त्रिनगर–गौरीफन्टा क्षेत्रमा केही समूह लामो समयदेखि भारतको बनगाउँ क्षेत्रबाट सामान ल्याउने कार्यमा सक्रिय छन् । अत्तरिया, गेटा, विशालनगर, कटान र ढोकेबजारलगायत क्षेत्रसँग सम्बन्धित भनिएका केही महिला समूहले पटक-पटक भारततर्फ गई सानो–सानो परिमाणमा सामान ल्याउने गरेको स्रोतको दाबी छ ।
स्रोतले यसअघि नै कपडा तथा सुर्तीजन्य सामग्री ओसारपसार हुने गरेको जानकारी दिँदै आएको थियो । पछिल्लो पटक प्रहरीबाट यस्तै प्रकृतिका सामान बरामद भएपछि उक्त सूचनामाथि थप चासो बढेको छ ।
त्रिनगर नाकामा सुरक्षा जाँच र नियमित गस्ती हुँदाहुँदै करिब डेढ लाख रुपैयाँभन्दा बढीको सामान धनगढीसम्म पुग्नुको कारण अहिले मुख्य प्रश्न बनेको छ ।
यदि सीमा क्षेत्रमा प्रभावकारी चेकजाँच भइरहेको थियो भने रातको समयमा ठूलो परिमाणको सामान सुरक्षा निगरानी पार गरेर धनगढीसम्म कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान आवश्यक देखिन्छ ।
त्यसमाथि स्रोतले सीमा क्षेत्रमा सामान ओसारपसार गर्ने समूह र केही सुरक्षाकर्मीबीच मिलेमतो हुने गरेको आरोप लगाएको छ । सुरक्षा चेकजाँचको अवस्था र बाटोबारे सूचना दिने तथा आफूअनुकूलका सामानमा आँखा चिम्लिने गरेको आरोपसमेत स्रोतको छ ।
तर, यी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ । यस विषयमा सशस्त्र प्रहरी तथा सम्बन्धित सुरक्षाकर्मीको आधिकारिक धारणा सार्वजनिक भएको छैन ।
सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सुरक्षा संयन्त्रको निगरानी हुँदाहुँदै सामान धनगढीभित्र पुगेर नेपाल प्रहरीले बरामद गर्नुपर्ने अवस्था आउनुले सीमा सुरक्षाको कार्यक्षमतामाथि प्रश्न उठाएको छ ।
भारतबाट आएको भनिएको सामान कुन बाटो हुँदै नेपाल प्रवेश गर्यो ? कुन स्थानबाट सीमा पार गरियो ? त्यस समयमा कुन-कुन सुरक्षाकर्मी ड्युटीमा थिए ? नजिकैको बीओपीको गस्ती कहाँ थियो ? सामान ओसारपसारमा संलग्न भनिएका समूहबारे सुरक्षा निकायलाई पहिले नै जानकारी थियो भने निगरानी र कारबाही किन भएन ?
पछिल्लो घटनाले त्रिनगर-गौरीफन्टा नाकामा सुरक्षा निगरानी कमजोर भएको हो वा सीमा सुरक्षाकर्मीको मिलेमतोमै सामान ओसारपसार भइरहेको हो भन्ने विषयमा गम्भीर छानबिनको आवश्यकता देखाएको छ ।